मंगलबार एक कार्यक्रमबीच कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले खड्कालाई पद तथा गोपनियताको शपथ दिलाएलगत्तै कर्णाली प्रदेशसभा सचिवको पदभार ग्रहण गरेका हुन् ।
सुर्खेत — कर्णाली प्रदेशसभाका नवनियुक्त सचिव अर्जुनकुमार खड्काले पद तथा गोपनियताको शपथ लिएका छन् ।
मंगलबार एक कार्यक्रमबीच कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले खड्कालाई पद तथा गोपनियताको शपथ दिलाएलगत्तै कर्णाली प्रदेशसभा सचिवको पदभार ग्रहण गरेका हुन् । उक्त अवसरमा कर्णाली प्रदेशमा मुख्यमन्त्री यामलाल कँडेललगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
नवनियुक्त सचिव खड्कालाई मुख्यमन्त्री कँडेलले बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए । नेपाल सरकारका पूर्व सहसचिव खड्का ओखलढुंगाको सिद्धिचरण नगरपालिका– ९ का स्थायी बासिन्दा हुन् । यसअघि उनले संघीय संसद् सचिवालयमा पाँच वर्ष कानुन सह–सचिवको रुपमा काम गरेका थिए । उनीसँग कानुन तथा न्यायको क्षेत्रमा ४० वर्ष लामो काम गरेको अनुभव छ । कानुन विषयमै विद्यावारिधी गरेका खड्काले सिंगापुरको नेसनल युनिभर्सिटीबाट सार्वजनिक प्रशासन विषयमा स्नातकोत्तरसमेत गरेका छन् ।
खड्काले नेपालको संविधान निर्माणका क्रममा संविधानको मस्यौदा समितिमा रहेर काम गरेका थिए ।
