जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी वेदबहादुर पौडेलका अनुसार जिपमा सवार सबै १२ यात्रु घाइते भएका हुन् ।
रुकुम पश्चिम — रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-९ मा मंगलबार साँझ भएको जिप दुर्घटनामा १२ जना घाइते भएका छन् । साँझ सवा ६ बजेतिर आठबिसकोटको सुन्दरपानीस्थित भित्री सडक खण्डको राडी बजारबाट मैडाँडातर्फ जाँदै गरेको जिप दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी वेदबहादुर पौडेलका अनुसार जिपमा सवार सबै १२ यात्रु घाइते भएका छन् । उनीहरुमध्ये टाउकोमा चोट लागेका आठबिसकोट–१० का ४५ वर्षीय जसि दमाई, आठबिसकोट–८ का १६ वर्षीय भुपेन्द्र सत्याल र २३ वर्षीय महेन्द्र गैरेको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।
‘घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी खटाएको र घाइतेहरूको उद्धार गरेर नगर अस्पताल राडी ल्याइ उपचार भैरहेको छ,’ डिएसपी पौडेले भने ।
