कालिकोटको रास्कोट नगरपालिकामा सडक बत्ती र सीसी क्यामेरा जडान

चोरी, डकैती र लागूऔषध नियन्त्रणमा सहयोग पुग्ने प्रहरीको विश्वास ।

वैशाख १४, २०८३

तुलाराम पाण्डे

Street lights and CCTV cameras installed in Raskot Municipality, Kalikot

What you should know

कालिकोट — शिक्षा र स्वास्थ्य सुधारमा नमुना बनेको रास्कोट नगरपालिकाले सडक बत्ती र नगरका महत्त्वपूर्ण स्थानमा सीसी क्यामेरा जडान गरेको छ । रातीको समयमा हुने चोरी, डकैती र हिंसा न्यूनीकरण गर्न नगरपालिकाले सडक बत्ती र सीसी क्यामेरा जडान गरेको हो । 

नगरभित्र हुने चोरी, डकैती, झैझगडा, हिंसालगायतका आपराधिक गतिविधि न्यूनीकरण गर्ने उद्देश्यले ३० वटा सडक बत्ती र १० वटा सीसी क्यामेरा जडान गरिएको नगर प्रमुख धर्मराज शाहीले बताए । 'सीसी क्यामेरालाई सडक बत्तीसँग कनेक्ट गरिएको छ,' उनले भने, 'यसबाट अवान्छित गतिविधिको निगरानी हुने विश्वास लिएका छौं ।' 

कालिकोट जिल्लाका ९ वटै स्थानीय तहमध्ये नगर प्रहरी भर्ना गरेर गाउँमा हुने सानातिना झैझगडा र शान्ति सुरक्षामा नेपाल प्रहरीलाई सघाउँदै आएको छ । रास्कोटमा इलाका प्रशासन स्थापना भएर नागरिकता र राष्ट्रिय परिचय पत्रको सेवा दिन थालिएको छ । वैशाख ७ गतेबाट सदरमुकाम मान्मबाट पाइने नागरिकता र राष्ट्रिय परिचय पत्र इलाका प्रशासन कार्यालय रास्कोटबाटै प्रदान गर्न थालिएको सहायक प्रजिअ जनक शर्माले बताए । उनका अनुसार गत सोमबारदेखि शुक्रबारसम्म इलाका प्रशासन कार्यालय रास्कोटले २ सय ५० नागरिकता र ३ सय ४० राष्ट्रिय परिचय पत्र जारी गरेको छ । 

'हामी बनाउँछौं, हाम्रो रास्कोट' नारासहित समाजलाई सुरक्षित बनाउन सडक बत्ती र सीसी क्यामेराले काम गर्ने नगरपालिकाका सूचना प्रविधि अधिकृत भीमबहादुर बुढाले बताए । सीसी क्यामेरासँग सोलार प्यानल र विद्युत् दुवैबाट पावर सप्लाई हुने गरी व्यवस्थापन गरिएको छ । उनका अनुसार नगरपालिकाको भवनभित्र १० वटा सीसी क्यामेरा, नगर प्रहरीको ब्यारेकमा एक र आरसीपी बजारमा २ वटा राखिएको छ । उनका अनुसार नगरपालिकाले ३ लाख ५० हजार रुपैयाँको लागतमा बत्ती र क्यामेरा खरिद गरेर जडान गरेको हो । उनले २ देखि ६ मेगापिक्चर्सका क्यामेरा खरिद गरिएको जानकारी दिए । 

सडक बत्ती र सीसी क्यामेराले सुरक्षित रास्कोट अभियानलाई मद्दत पुर्‍याउने नगर उपप्रमुख मनिराज बरालले बताए । इलाका प्रशासनसहित दुईवटा बैंकका शाखा, इलाका प्रहरी कार्यालय, नगर अस्पताल, खाद्य र साल्ट टेडिङको बिक्री केन्द्रसमेत रहेको रास्कोटमा सडक बत्ती र सीसी क्यामेराको जडानले नगर सुरक्षित बनाउन सहयोग पुगेको नागरिक समाजका अगुवा टीकाराज उपाध्यायले बताए ।  

रास्कोट नगरपालिकामा हुने अवैध गतिविधि, अपराध नियन्त्रणमा सीसी क्यामेराले निगरानी गर्ने भएकाले शान्ति सुरक्षामा पनि सहयोग पुग्ने कालीकोटका निमित्त प्रहरी प्रमुख गणेश ज्ञवालीले बताए । 

कर्णाली प्रदेश सरकारले पनि यहाँको रास्कोट नगरपालिकालाई नवप्रवर्तन कार्याक्रमअन्तर्गत ४९ लाख बजेट दिने निर्णय गरेको छ । रास्कोटलाई डिजिटल नगरपालिका कार्यक्रम संचालन गर्न रकम विनियोजन गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले बताए ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully