तिलागुफाका पदक विजेतालाई नगरको नगद प्रोत्साहन

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा तिलागुफा नगरपालिकाले १५ स्वर्ण, ११ रजत र ५ कास्य गरी ३१ पदक जितेको छ ।

वैशाख १४, २०८३

तुलाराम पाण्डे

City cash incentive for Tilagufa medal winners

कालीकोट — जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता खेलाडीलाई तिलागुफा नगरपालिकाले नगदसहित सम्मान गरेको छ । १६ औं जिल्ला स्तरीय राष्टप्रति रनिङ शिल्डमा ३१ जना पदक विजेता र  ८० जना सहभागी खेलाडीलाई नगरपालिकाले प्रोत्साहन स्वरुप नगद दिएको हो । 

तिलागुफाका १८ जना खेलाडी कर्णाली प्रदेश स्तरीय खेलकुदका लागि छनोट भएका छन् । उनीहरु धेरैजसो एथेलेटिक्सका खेलाडी हुन् । 

नगरप्रमुख शंकरप्रसाद उपाध्यायले रनिङ शिल्डमा स्वर्ण पदक विजेता खेलाडीलाई ५ हजार, रजत विजेतालाई ३, कास्य विजेतालाई २ र सहभागीलाई प्रतिब्यक्ति १ हजारका दरले प्रोत्साहन रकम वितरण गरिएको बताए । 

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ नाराका साथ नरहरिनाथ गाउँपालिकाको केन्द्र कुमालगाउँमा आयोजित १६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा तिलागुफा नगरपालिकाले लगातार तेस्रो पटक जिल्लामा प्रथम भएर शिल्ड जितेको हो । 

नगरपालिकाले पदक विजेता र सहभागी खेलाडीलाई उनीहरुका अभिभावकको सहभागितामा नगरको केन्द्र गाल्जेमा बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको उपप्रमुख महेन्द्रवहादुर शाहीले बताए । तिलागुफाले खेलाडीका लागि पोशाक, खेल सामग्री र खेल मैदानको लागि लगानी गर्दै आएको छ । यसवर्ष पनि नगरले ४० लाख बजेट विनियोजन गरेको छ । ३० स्वर्ण, ३० रजत र ३० कास्य पदकका लागि भएको प्रतिष्पर्धामा १५ स्वर्ण, ११ रजत र ५ कास्य गरी ३१ पदकका साथ तिलागुफा नगरपालिका जिल्लामै प्रथम भएको हो । 

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully