शिविरमा कानसम्बन्धी समस्या भएका ५ सय ५३, मोतियाविन्दुको अप्रेसन गर्नुपर्ने १ सय ५ र मुटु, सुगर र मृगौलासम्बन्धी समस्या भएकाले सेवा लिएको दार्मा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताए ।
What you should know
सल्यान —
जिल्लाको दार्मा गाउँप लिकामा संचालित ६ दिने स्वास्थ्य शिविरबाट ९ सय ५ जना लाभान्वित भएका छन् ।
दार्मा गाउँपालिकाको आयोजना, ब्रिनोज कान स्याहार केन्द्र बाँके नेपालगन्ज र नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पताल रक्षाचौर दाङको प्राविधिक सहयोगमा संचालित शिविरबाट ९ सय ५ जना लाभान्वित भएका हुन् ।
दुर्गमका स्थानीयले केही जटिल रोगको उपचारका लागि धेरै रकम खर्च गरी लामो समय गाडीमा सवार भएर दाङ, नेपालगन्ज, सुर्खेत धाउन नपरोस् र घरनजिकै स्वास्थ्य सेवा पाऊन् भनी पालिकाले आफ्ना ६ वडाका स्वास्थ्यचौकीमा कान, आँखा, मुटु, सुगर र मृगौला रोगसम्बन्धी शिविरको आयोजना गरेको हो ।
शिविरमा कानसम्बन्धी समस्या भएका ५ सय ५३, मोतियाविन्दुको अप्रेसन गर्नुपर्ने १ सय ५ र मुटु, सुगर र मृगौलासम्बन्धी समस्या भएकाले सेवा लिएको दार्मा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताए । वडा अनुसार १ का १ सय ६८, २ का १ सय ६३, ३ का १ सय ५८, ४ का १ सय ६, ५ का १ सय ५० र ६ का १ सय ६० जनाले सेवा लिएको उनले जानकारी गराए । उनका अनुसार कुल ९ सय ५ मध्ये ५ सय ४३ महिला र ३ सय ६२ पुरुषले सेवा लिएका थिए ।
पालिकाभित्रै गतिलो अस्पताल नभएको र स्वास्थ्य संस्थामा सामान्य उपचारभन्दा अन्य सम्भव नभएपछि स्थानीयले उपचारका लागि मिसन अस्पताल चौरजहारी, जिल्ला अस्पताल सल्यान, दाङ, नेपालगन्ज, सुर्खेत जान नपरोस् र आर्थिक समस्या भएका विपन्न परिवार स्वास्थ्य सेवाबाट बन्चित हुन नपरोस् भनेर प्रत्येक वर्ष पालिकाले स्वास्थ्य शिविर संचालन गर्दै आएको उनको भनाइ छ ।
