ढिलो राहतले जुम्लाका बाढीपहिरोपीडितलाई आहत

तीन वर्षअघि घर बगाएका जुम्लाका दर्जनौं परिवारले पहिलो किस्ता राहत पाए पनि दोस्रो किस्ता अझै पाउन सकेका छैनन् ।

वैशाख ११, २०८३

डीबी बुढा

Delayed relief hurts flood and landslide victims in Jumla

What you should know

जुम्ला — तीन वर्षअघि बाढीले घर बगाइदिएपछि सिंजा–६ का पदमबहादुर रोकायाको परिवार विस्थापित भयो । पाँच कोठे घर, लत्ताकपडादेखि अन्नपात सबै बगाएपछि उनको परिवार डेढ महिना भाइको घरमा बस्यो । लेकतिरको खर्कमा बसोबास भएकोले मानवीय क्षति नभए पनि घरको नामोनिसान नै रहेन । 

सरकारले पहिरो पीडित परिवारलाई पाँच लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गर्‍यो । डेढ वर्ष कुर्दा पनि कुनै टुंगो नलागेपछि ६ लाख रुपैयाँ ऋण निकालेर उनले ६ कोठे घर बनाए । घर बनाइसकेपछि पहिलो किस्ता स्वरुप ९५ हजार रुपैयाँ आयो ।

बाढीपहिरो पीडितलाई सरकारले घर पुनर्निर्माणका लागि दिने रकम उपलब्ध गराउन ढिलाइ गर्दा निकै कष्ट बेहोर्नु परेको उनले बताए । उनको पाँच जनाको परिवार नयाँ घरमा सरेको छ । ‘पहिरोले घर त लगिहाल्यो । राज्यले राहत दिन ढिलाइ गर्दा ऋणी बनेको छु,’ उनले भने । यो पटक तीन वर्षपछि दोस्रो किस्ता स्वरुप १ लाख ५० हजार रुपैयाँ गाउँपालिकाको खातामा राहत रकम आएको सुनेको उनले आफ्नो खातामा राहत अझै जम्मा भइनसकेको बताए । 

सिंजा–६ जोडुका बाँचे बुढाको पाँच जनाको परिवार दुई कोठे घर पहिरोले बगाएपछि एक वर्ष स्याउको बगैंचाभित्र अर्कोको घर मागेर बसे । पहिरोमा पुरिएर उनका पाँच गाइगोरु मरे । अन्नपात, लत्ताकपडा र भाडाकुडा सबै नष्ट भए पनि परिवार बिचल्लीमा परेको थियो ।

राज्यले दिने भनिएको रकम आउन ढिलाइ भएपछि तीन लाख रुपैयाँ ऋण निकालेर उनले गत असारमा घर बनाए । अहिले उनीसँग चार कोठाको घर छ । एक लाख रुपैयाँ ऋण तिर्न बाँकी छ । अहिले पहिरो नजाने स्थान छनोट गरेर घर बनाए पनि एक लाख रुपैयाँ ऋणले झस्काइरहने उनले बताए । पहिलो किस्तास्वरुप ९५ हजार रुपैयाँ राहत रकम प्राप्त गरेका बाँचेले यो पटक राहत आइपुगेको समेत थाहा पाएका छैनन् । ‘पहिरो गएपछि लत्ताकपडा र खाद्यान्न पाएका थियौं । राहत पनि धेरै छिटो पाइन्छ भन्ने आश थियो तर ढिलो हुँदा ऋणको भारी बोक्नु पर्ने बाध्यता बन्यो,’ उनले भने । 

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार २०७९ असोज १९ देखि २६ सम्मको बर्षाले बाढी आउँदा सिंजा, तातोपानी र गुठीचौरमा ठूलो क्षति पुर्‍याएको थियो । त्यतिबेला जिल्लाभर १ सय ४६ घर बाढीले बगाएको थियो । जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडलले सिंजामा १०२, तातोपानीमा ३४ र गुठीचौरमा १० घर पूर्णरुपमा क्षति भएको बताए । 

पहिरोले पूर्णक्षति भएका १ सय ४६ घरधुरीलाई २ करोड १९ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । अब प्रत्येक घरधुरीलाई १ लाख ५० हजार रुपैयाँका दरले दोस्रो किस्ता प्रदान गरिने पौडेलले बताए । अहिले प्राप्त भएको रकम गाउँपालिकाको खातामा पठाइसकेको उनले बताए । 

जिल्ला प्रशासन कार्यालय जुम्लाका विपद् शाखा प्रमुख विष्णुबहादुर महतले सिंजामा १ करोड ५३ लाख, तातोपानीमा ५१ लाख र गुठीचौरमा १५ लाख रुपैयाँ निकासा भइसकेको बताए । प्रक्रिया पुर्‍याउँदै  रकम ढिलो आइपुगेको उनले बताए । 

प्रदेश विपद् व्यवस्थापन समितिको सिफारिस तथा कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को गत जेठ १३ को निर्णय अनुसार अनुदान वितरण प्रक्रिया अघि बढेको थियो । मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि २०७७ तथा आगलागीजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान वितरण कार्यविधि २०७८ बमोजिम प्रदेश सरकारले व्यहोर्ने गरी ३० प्रतिशत रकम सम्बन्धित स्थानीय तहमार्फत भुक्तानी दिन लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सघन सहरी तथा भवन निर्माण आयोजनाका प्राविधिकबाट नापजाँच प्रतिवेदन पेस भएपछि सोही आधारमा भुक्तानी दिने निर्णय गरिएको उनको भनाइ छ । 

जिल्ला विपद् व्यवस्थापन कोषमा स्थानीय तहले २० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत र संघीय सरकारले ५० प्रतिशत रकम बेहोर्ने मापदण्ड रहेको छ । पूर्णरूपमा घर क्षति भएका प्रभावितलाई नयाँ घर निर्माणका लागि ५ लाख रुपैयाँ तथा आंशिक क्षति भएकालाई ५० हजार रुपैयाँ दिने प्रावधान छ । स्थानीय तहको सिफारिस र आवश्यक कागजात पूरा भएपछि मात्र लाभग्राही कायम हुने व्यवस्था रहेको छ । 

सिंजा–६ का वडाध्यक्ष लालबहादुर बुढाले पहिलो किस्तास्वरुप गाउँपालिकाबाट ५० हजार र संघीय सरकारबाट ४५ हजार रुपैयाँ गरेर ९५ हजार रुपैयाँ प्रदान गरिएको बताए । तर अहिले दोस्रो किस्ताका रुपमा प्रतिघर एक लाख ५० हजार रुपैयाँ प्राप्त भएको उनको भनाइ छ । उनले सरकारले राहत ढिलो दिँदा पीडितहरु झनै प्रभावित बनेको बताए । उनले भने, ‘पहिरो पीडितले ऋणजोहो गरेर घर त ठड्याएका छन् तर टन्न ऋणको भारी बोकिरहेका छन् ।’

जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीपहिरो पीडितले प्रति घरधुरी ५ लाख ४५ हजार रुपैयाँ पाउने व्यवस्था रहेको छ । तेस्रो किस्ताबापत ३ लाख रुपैयाँका लागि संघीय सरकारसँग माग गरिएको पनि प्रशासनले जानकारी दिएको छ । त्यतिबेला बाढीपहिरोले जिल्लाको १८ हेक्टर मार्सी फाँट, चार सय बढी सिँचाइ कुलो र पूर्ण र आंशिक गरी झण्डै १२ सय नीजि संरचनामा क्षति भएको थियो ।

दोस्रो किस्ताको रकमले ढिलै भए पनि पीडितलाई राहात भएको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । उनले भने, ‘पहिलो किस्ता लिएर घर निर्माण गरिसकेको र ऋण लिएर काम गरिसकेका लाभग्राहीलाई प्राथमिकता दिएर दोस्रो किस्ता सिधैं खातामा पठाउने छौं ।’ उक्त बाढीले जुम्लाको १२ सय किसानको मार्सीधानमा क्षति भएको थियो । १८ हेक्टर मार्सी फाँट बगर बनेको थियो । सरकारले प्रति किसान ४१२ रुपैयाँ राहत पाउने गरी बजेट पठाएपछि जुम्लाका किसानले उक्त राहत रकम अस्वीकार गरेका थिए ।  

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully