ठेक्का रद्दको चेतावनीपछि दुई वर्षदेखि अलपत्र अस्पताल भवन निर्माण थालियो

ठेक्का रद्द गर्ने चेतावनी दिएपछि निर्माण कम्पनीहरुले दुई वर्षपछि अधुरो छाडेको अस्पताल भवन निर्माणको काम सुरु गरेका हुन् ।

वैशाख ८, २०८३

विप्लव महर्जन

Construction of hospital building abandoned for two years resumes after warning of contract cancellation

What you should know

सल्यान — जिल्ला अस्पतालका दुई भवन र छत्रेस्वरी गाउँपालिका–५ लेखपोखरामा निर्माणाधीन १५ शय्याको पालिका अस्पताल भवनको काम रोकिएको दुई वर्षपछि निर्माण सुरु भएको छ । 

ठेकेदारले विभिन्न बहाना बनाई कामै नगर्दा जिल्ला अस्पतालका दुई भवन र छत्रेस्वरी गाउँपालिका–५ लेखपोखरामा निर्माणाधीन १५ शय्याको अस्पताल भवन अलपत्र परेको थियो । सम्बन्धित निकायले ठेक्का रद्द गर्ने भन्दै पत्र पठाएपछि निर्माण कम्पनीले अलपत्र परेको अस्पताल भवन निर्माणको काम सुरु गरेका हुन् । 

जिल्ला अस्पताल सल्यानलाई ५० शय्यामा विस्तार गर्न भौतिक संरचना अपुग भएपछि संघीय सरकारले २०७७ मा १८ करोड बजेट विनियोजन गरेपछि २०७८ देखि जिल्ला अस्पतालका दुई भवन निर्माणको काम सुरु गरिएको थियो । भवन निर्माणको जिम्मेवारी आरोग्य सुवेदी जेभी कम्पनीले पाएको थियो । म्याद थप हुन नसक्दा निर्माण कम्पनीले ७५ प्रतिशत काम गरेर त्यत्तिकै छाडेको थियो । 

यस्तै छत्रेस्वरी गाउँपालिकाको १५ शय्याको अस्पताल भवन निर्माणका लागि संघीय सरकारले २०७७/०७८ मा १८ करोड विनियोजन गरेको थियो । उक्त कामको १३ करोड लागतमा मेनका ग्याल्वा जेभीले जिम्मा पाएको थियो । यहाँ निर्माण कम्पनीले सुरुवातमा लगातार पाँच महिना काम गरेको थियो । पछि कोरोना महामारीको कारण देखाउँदै विभिन्न बहाना बनाई १५ प्रतिशत मात्र काम गरेर छाडेको थियो । 

ठेकेदारकै लापरवाहीले झन्डै दुई वर्षदेखि रोकिएको जिल्ला अस्पतालका दुई भवन गत चैतमा म्याद थप भएपछि अहिले निर्माण कम्पनीले काम गरिरहेको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढा मगरले बताए । झन्डै ७५ प्रतिशत काम भैसकेको योजना यो आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । 

Construction of hospital building abandoned for two years resumes after warning of contract cancellation

भवन निर्माणको काम लामो समय अलपत्र पर्दा सिमेन्टलगायतका सामग्री त्यत्तिकै खेर गएको र जिल्ला अस्पताललाई ५० शय्यामा विस्तार कार्य ओझेलमा परेको उनले बताए । 

प्रदेश तथा संघीय सरकारबाट दबाब आएको र साताभित्रै काम सुरु नगरे ठेक्का रद्द गर्ने भन्दै पत्र लेखेपछि ठेकेदारले अलपत्र परेको भवनको काम सुरु गरेको र अहिले काम गर्न थालेको डेढ महिना भएको छत्रेस्वरी गाउँपालिकाका ईन्जिनियर राजाराम रिजालले बताए ।

पछिल्लो समय काम सुरु गरेयता अहिले पिलर जडानको काम भैरहेको उनले बताए । ‘निर्माणको जिम्मेवारी पाएका कम्पनीका ठेकेदार प्रमोद श्रेष्ठले २०७९/०८० सम्झौता गरे लगत्तै पाँच महिना काम गरेका थिए । त्यो बेला उनले भवन निर्माणको लागि जमिन सम्याउने, पिलर जडानको लागि खाल्डो खन्ने काम गरेका थिए ।

त्यसपछि बारम्बार ताकेता गर्दा प्रत्येक वर्ष असारमा एक/डेढ महिना काम गर्दै आएका थिए । अहिले पेट्रोलियम पदार्थको मूल्यबृद्धि भएका बेला धमाधम काम गरिरहेका छन् तर कहिलेसम्म गर्छन् भन्नेमा विश्वस्त हुन सकेका छैनौं,’ उनले भने । निर्माण कम्पनीले दुई वर्षमा सम्पन्न गर्नुपर्ने योजना कामै नगरी अलपत्र पार्दा पटक पटक म्याद थप गर्नु परेको उनको भनाई छ । 

मेनका ग्याल्वा जेभीका संचालक प्रमोदकुमार श्रेष्ठले त्यो बेला कोरोना महामारी, सामग्रीको मूल्यबृद्धिले समयमै काम गर्न नसकिएको बताए । भवन निर्माणको काम जति छिटो सम्पन्न गरेर पालिकालाई हस्तान्तरण गर्ने उनले बताए । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully