बन्गाड कुपिण्डे नगरपालिका–१० खानीगाउँमा सोमबार विहान भएको आगलागीबाट खरले छाएको तीन घर र एउटा गोठ जलेर नष्ट भएको छ ।
सल्यान — आगलागीबाट सल्यानमा चार घरगोठ जलेर नष्ट भएको छ । बन्गाड कुपिण्डे नगरपालिका–१० खानीगाउँमा सोमबार विहान भएको आगलागीबाट खरले छाएको तीन घर र एउटा गोठ जलेर नष्ट भएको हो ।
आगलागीबाट स्थानीय तेजबहादुर पुनको गोठ, थमन घर्ती, जीवन पुन र खुमबहादुर पुनको खरले छाएको घर जलेर नष्ट भएको हो । तेजबहादुर पुनको गोठबाट सुरु भएको आगो हुरीका कारण फैलिएर नजिकै रहेको थमन घर्ती, जीवन पुन र खुमबहादुर पुनको घरमा लागेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भटराईले बताए ।
उनका अनुसार तीन घन्टा लगाएर स्थानीय तथा बाबियाचौरबाट खटिएका प्रहरीको सहयोगमा आगो नियनत्रणमा लिइएको थियो । मुचुल्का उठाउने काम भैरहेकोले कति रकम बराबरको क्षति भयो खुल्न सकेको छैन ।
सोमबार विहान स्थानीयले घर नजिकै बारीमा आगो लगाएका र हुरी चलेकाले गोठ हुँदै घरमा सल्केको हुनसक्ने स्थानीयले जानकारी दिएको उनको भनाइ छ ।
