वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाबमोजिम मृतकका परिवारलाई राहत रहक उपलब्ध गराइएको हो ।
सुर्खेत — बँदेलको आक्रमणबाट ज्यान गुमाएका एक व्यक्तिका परिवारलाई साढे १० लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गरिएको छ ।
माघ २४ गते दैलेखको भैरवी गाउँपालिका–५ बैटाकुरामा गोठाला गएका बेला बँदेलको आक्रमणमा परेर ४५ वर्षीय पदमबहादुर विष्टको मृत्यु भएको थियो।
वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाबमोजिम कर्णाली प्रदेश सरकारबाट १० लाख र राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाबाट ५० हजार रुपैयाँ गरी कुल साढे १० लाख मृतकका परिवारलाई उपलब्ध गराएको कर्णाली प्रदेश वन निर्देशनालयका निर्देशक शेरबहादुर श्रेष्ठले बताए ।
प्रदेश सरकारतर्फको रकम डिभिजन वन कार्यालय, दैलेखमार्फत मृतक परिवारको बैंक खातामा जम्मा गरिएको निर्देशनालयले जनाएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषतर्फको रकम भने सम्बन्धित अधिकारीहरूको उपस्थितिमा मृतककी पत्नी मागिसरा विष्टलाई हस्तान्तरण गरिएको थियो ।
घटना भएको दिन घरनजिकै गाईभैंसी गोठाला गएका विष्ट घर फर्किने क्रममा बँदेलको आक्रमणमा परेका थिए। मृतकका भाइ महेश विष्टले भैरवी गाउँपालिकाले घोषणा गरेको राहत रकम अझै नपाएको गुनासो गरेका छन् ।
