विवाहको जन्ती बोकेर गएको जीप दुर्घटना हुँदा गम्भीर घाइते भएका १० जनालाई नेपालगन्ज रिफर गरिएको छ।
सल्यान — विवाहको जन्ती बोकेर गएको जीप दुर्घटना हुँदा गम्भीर घाइते भएका १० जनालाई नेपालगन्ज रिफर गरिएको छ।
गम्भीर घाइते हुनेहरूमा बनगाड कुपिण्डे नगरपालिका–८ थाराका ६४ वर्षीय अम्मर सिंह कुँवर, २७ वर्षीय डम्मर घर्ती, ३० वर्षीय जनक थापा, ४९ वर्षीय भूपेन्द्र कुँवर, ३० वर्षीय भुलबहादुर थापा, ५६ वर्षीय जुग सिंह पुन, २८ वर्षीय नरसिंह थापा, ३८ वर्षीय कर्णबहादुर थापा, १५ वर्षीय तिलक थापा र कुलबहादुर राना रहेका छन्। उनीहरूलाई नेपालगन्ज रिफर गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार कुलबहादुर राना र जुग सिंह पुनको न्युरो अस्पताल, नेपालगन्जमा तथा अन्यको नर्सिङ होममा उपचार भइरहेको छ। कुलबहादुर राना र जुग सिंह पुनको अवस्था गम्भीर रहेको र अन्य खतरामुक्त रहेको प्रनि भट्टराईले जानकारी दिए।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–८ थाराबाट कालिमाटी गाउँपालिका–१ लक्ष्मीपुरतर्फ विवाहको जन्ती लिएर जाँदै गरेको लु.प्र. ००१ ज ०२७१ नम्बरको जीप शनिबार बेलुका ५:३० बजे बनगाड कुपिण्डे नगरपालिका–१२ धाइरेमा दुर्घटना भएको थियो।
दुर्घटनामा परी थाराका ५२ वर्षीय टोपबहादुर थापा, ५२ वर्षीय ठगे घर्ती, २९ वर्षीय कर्णबहादुर पुन र ३० वर्षीय मनबहादुर थापाको मृत्यु भएको थियो। १४ जना घाइते भएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका सबैलाई तत्काल उद्धार गरी सुर्खेतको मेहलकुना अस्पताल लगिएको थियो।
अनियन्त्रित भएर दुर्घटनामा परेको जीपमा १८ जना सवार थिए। जीप सडकदेखि झन्डै सय मिटर तल खसेको थियो।
