मादलको तालमा लोकभाका गुञ्जाउँदै ‘बोहरा टिम’

बोहरा टिममा तुल्सीरामसँगै मिलन, अजय र हेमराज बोहरा रहेका छन् । भन्नलाई सबैले ‘बोहरा टिम’ भने पनि रमाइलो गर्ने बेलामा आवश्यकताअनुसार अरू पनि मिसिने गरेको उनीहरू बताउँछन् ।

वैशाख ६, २०८३

महेश केसी

'Bohra Team' resounding with folk songs in the Madal Lake

What you should know

रुकुम पश्चिम — मादल, बाँसुरी र खैंजडी बोकेर चार–पाँच जनाको एउटा समूह जब कुनै मेला–उत्सव अथवा रमणीय जमघटमा पुग्छ, त्यसपछि त्यो ठाउँको माहोल थप रमझमपूर्ण बन्छ । मादलको तालमा खैंजडीको छमछम अनि बाँसुरीको धुनसँगै गुञ्जिन्छ घरी झ्याउरे भाका त घरी बनघारी र सिंगारु गीतको सुललित लय । यो समूहलाई दर्शकले माया गरेर दिएको नाम हो– ‘बोहरा टिम’ । 

तीन वर्षअघि नाचगान भैरहेको एक ठाउँमा गएर केही बोहरा दाजुभाइले मादल बजाए, गीत गाए अनि त्यो भिडियो कसैले सामाजिक सञ्जालमा राखिदियो । त्यसको सर्वत्र चर्चा भयो । अनि एकपछि अर्को गर्दै यी दाजुभाइको नाच्ने–गाउने क्रम बढ्दै जान थाल्यो । टिमका सदस्य तुल्सीराम बोहरा भन्छन्, ‘अनि एकदिन कसैले ‘लौ है बोहरा टिम आयो’ भनेर भन्दियो । अनि एक–दुईपल्ट ख्यालख्यालमै भनिएको त्यही ‘बोहरा टिम’ नै हाम्रो समूहको नाम रह्यो ।’ 

तुल्सीरामका अनुसार पहिला त रमाइलो भैरहेको ठाउँमा गएर उनीहरूकै मादल बजाएर १–२ वटा गीतका भाका मात्रै गाउँथे । पछि आफैंले दुईवटा मादल, केही थान बाँसुरी र खैंजडीको व्यवस्था गरे । अहिले यही बोकेर उनीहरू ठाउँ–ठाउँमा रमाइलो गर्न पुग्छन् ।

बोहरा टिममा तुल्सीरामसँगै मिलन, अजय र हेमराज बोहरा रहेका छन् । भन्नलाई सबैले ‘बोहरा टिम’ भने पनि रमाइलो गर्ने बेलामा आवश्यकताअनुसार अरू पनि  मिसिने गरेको उनीहरू बताउँछन् । आफूहरूको नाचगान कुनै पूर्वनिर्धारित र योजनाबद्ध भन्दा पनि सबैको फुर्सद मिलेका बेला हुने जमघट भएको मिलन बताउँछन् । ‘हामी सबै साथीहरूको आ–आफ्नो काम र व्यवसाय छ । यसबाट फुर्सद मिलेपछि हामी रमाइलो गर्न निस्किन्छौं,’ उनले भने, ‘सुरु–सुरुमा त हामी आफ्नै रहरले जान्थ्यौं, अब भने औपचारिक निम्तो आउन थालेको छ । निम्ता आएका सबै ठाउँमा पुग्न त सम्भव हुँदैन । तर, हामी सकेसम्म रमाइलो गर्न पुग्ने कोसिस भने गर्छौं ।’ 

यो टिम कुनै आधिकारिक दर्ता भएर लागिरहेको टिम भने होइन । फुर्सदको बेला रमाइलोमा थप रमझम थपिदिने एउटा माध्यम हो । यसरी रमाइलो गरेबापत यो समूहले कुनै शुल्क नलिने तुल्सीरामले स्पष्ट पारे । ‘अहिले हाम्रो उद्देश्य भनेको रमाइलो गर्ने/गराउने मात्रै हो, यसबापत शुल्क उठाउने काम हामीबाट कहिल्यै भएको छैन,’ उनले भने, ‘कति ठाउँमा माया गरेर शिरमा पैसा लगाइदिनु हुन्छ । यसबाहेक हामीले कतैबाट केही लिएका छैनौं ।’ 

आफ्ना धेरै साथीभाइ विदेशमा रहेको र आफूहरूको रमाइलो नाचगान देखेर/सुनेर खुसी व्यक्त गरिरहेको तुल्सीरामले सुनाए । ‘यस्तो–उस्तो सहयोग गर्छौं भनेर पनि साथीहरूले भन्छन् । तर, हामीले अहिलेसम्म कसैबाट त्यस्तो सहयोग पनि लिएका छैनौं,’ उनले भने, ‘भविष्यमा पनि त्यस्तो सहयोग लिने हाम्रो कुनै प्लान छैन ।’ चाडबाड, मेलापर्व, पूजाआजा र विशेष दिनहरूमा हुने अनेकन् जमघटमा ‘बोहरा टिम’को प्रस्तुतिले एउटा गजबको रौनक थप्ने गरेको छ ।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully