बुवा १८ महिनादेखि जेलमा, आमा दुई सन्तान छोडेर बेपत्ता भएपछि बालबालिकाको बिचल्ली

परिवारको एकमात्र सहारा रहेकी आमा पनि पाँच वर्षीया एक छोरीलाई लिएर चार दिनअघि घरबाट बेपत्ता भएपछि एक छोरा र एक छोरी घरमै अलपत्र परेको आफन्त बिन्दु कुलालले बताइन् ।

वैशाख ५, २०८३

रामचन्द्र न्यौपाने

Father in prison for 18 months, children in distress after mother disappears leaving behind two children

डोल्पा — हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ रल्ली गाउँमा दुई नाबालकको अवस्था अत्यन्तै कारुणिक बनेको छ। ३९ वर्षीय बुबा जंगवीर कुलाल विगत १८ महिनादेखि जिल्ला कारागार डोल्पामा जेल जीवन बिताइरहेका छन् भने आमा जयक्वारा कुलालको संरक्षणमा रहेका ती बालबालिकालाई आमाले नै छोडेर हिँडेपछि अहिले ती बालबालिका पूर्णतः असहाय बनेका हुन्।

परिवारको एकमात्र सहारा रहेकी आमा पनि पाँच वर्षीया एक छोरीलाई लिएर चार दिनअघि घरबाट बेपत्ता भएपछि एक छोरा र एक छोरी घरमै अलपत्र परेको आफन्त बिन्दु कुलालले बताइन् ।

अभिभावकविहीन बनेका उनीहरू अहिले दैनिक जीविकोपार्जनका लागि समेत संघर्ष गरिरहेका छन्। घरमा खाद्यान्नको एक दानासमेत नभएको स्थानीयले बताए। दलित परिवारका ती बालबालिकाले न त पेटभरि खाना पाउन सकेका छन्, न लगाउनका लागि पर्याप्त लत्ताकपडा नै पाएका छन्। विद्यालय जाने उमेरका उनीहरू पढाइबाट समेत वञ्चित भएका छन्। 

अभिभावकको अभावमा उनीहरू भावनात्मक रूपमा पनि निकै पीडित बनेको आफन्तको भनाइ छ । स्थानीयका अनुसार बालबालिकाको नजिकबाट हेरचाह गर्नका लागि मुख्य अभिभावक नै नभएकाले उनीहरू भोकभोकै दिन बिताउन बाध्य छन्। यस्तो अवस्थामा उनीहरूको जीवन रक्षा र भविष्य सुनिश्चित गर्न तत्काल सहयोग गर्न आफन्तद्वारा अपिल गरिएको छ ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully