स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्न थालेपछि त्यस्ता मोटरसाइकल नियन्त्रणमा लिन थालिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
वीरेन्द्रनगर — स्वरूप परिवर्तन गरिएका मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेको छ । आफूखुसी स्वरूप परिवर्तन गरेर चलाइरहेका मोटरसाइकल नियन्त्रणमा लिइएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले जनाएको छ ।
कार्यालयका अनुसार सुर्खेतबाट ३० वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो । प्रदेशभर यो अभियान सञ्चालन गरिएको छ । स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्न थालेपछि त्यस्ता मोटरसाइकल नियन्त्रणमा लिन थालिएको कार्यालयका प्रमुख मुकुन्दप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार उनीहरूलाई कारबाहिका लागि यातायात व्यवस्था कार्यालय पठाउने गरिएको छ । ५ हजार जरिवाना तिरेपछि मात्र सवारीसाधन चालकले पाउँछन् । उनीहरूलाई फेरि असली (ओर्जिनल) साइलेन्सर नै प्रयोग गर्न पठाइन्छ ।
दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले सार्वजनिक सवारीसाधनमा सिट क्षमताभन्दा बढी जडान गरिएका दुई सय बढी सिट पनि हटाइएको प्रमुख रिजालले बताए । उनका अनुसार ट्राफिक प्रहरीले चालकको लागूपदार्थ र मादक पदार्थ चेकजाँचलाई तीव्रता दिएको छ । पछिल्लो समय लागूपदार्थ सेवन गरेर पनि सवारीसाधन चलाएको पाइएको थियो । लागू पदार्थ सेवन चेकजाँच गर्दा आठ जना बढी चालकले सेवन गरेको भेटिएको प्रहरीले जानकारी दियो ।
यसै गरी गति मापन यन्त्रको प्रयोग गरी सवारी साधनको गति मापन गर्ने काम पनि ट्राफिक प्रहरीले गर्दै आएको छ ।
