युवक हत्या आरोपमा बाबु–छोरी पक्राउ

दार्मा गाउँपालिकाका बालकृष्ण चन्दको हत्या आरोपमा कुमाख गाउँपालिका–५ तिमिलकाँडाका दलविरे घर्ती र उनकी छोरी शर्मिला घर्ती पक्राउ परेका छन्।

वैशाख ३, २०८३

विप्लव महर्जन

Father and daughter arrested on charges of murdering young man

सल्यान — दार्मा गाउँपालिका–६ भुर्तिबाङका २६ वर्षीय बालकृष्ण चन्दको हत्या आरोपमा कुमाख गाउँपालिका–५ तिमिलकाँडाका बाबु–छोरी पक्राउ परेका छन् ।  

हत्याको आरोपमा प्रहरीले कुमाख गाउँपालिका–५ तिमिलकाँडाका ६५ वर्षीय दलविरे घर्ती र उनकी छोरी ३९ वर्षीया शर्मिला घर्तीलाई पक्राउ गरेको हो । 

गत फागुन ३० को दिउँसो कुमाख–५ ठूलाखोलास्थित खोल्सामा अनुहार बाँया खुट्टा नभएको अवस्थामा चन्दको शव फेला परेको थियो । शंकास्पद देखिएपछि मृतकका परिवारले घर्ती बाबु–छोरीविरुद्ध जाहेरी दर्ता गराएका थिए । 

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार बालकृष्ण चन्द शर्मिलासँग प्रेममा परेका थिए । उनी ६ महिनादेखि शर्मिलाकै घरमा बस्दै आएका थिए । शर्मिला सम्बन्ध बिच्छेद गरेर माइतीमा बस्दै आएकी थिइन् । 

घरमा श्रीमती छाडेर प्रेमिकासँग बसेको थाहा पाएपछि आफन्तले प्रहरीको सहयोगमा चन्दलाई घर फर्काएका थिए । परिवारले फर्काए पनि चन्द्र पुनः शर्मिलासँगै बस्न गएका थिए । शर्मिलासँगै बस्ने क्रममा उनी बेपत्ता भएपछि आफन्तले खोजी गर्दा केही दिनपछि ठूलोखोलास्थित खोल्सामा मृत फेला परेका थिए । 

मृतकको पोष्टमार्टम गरे पनि शव सडेको अवस्थामा भएकाले भीरबाट आफैं लडेर मृत्यु भएको आशंका गरिएको थियो । हत्या आरोपमा साताअघि पक्राउ परेका घर्ती बाबु–छोरीलाई अहिले कारागार चलाउन गरिएको र घटनाको बिस्तृत अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भट्टराईले बताए । पक्राउमा परेका घर्ती बाबु–छोरीले आफ्नो आँगनमा आएर चन्दले आत्महत्या गरेपछि ज्यान मारेको आरोपमा फस्ने डरले खोल्सामा फालेको बयान दिएको प्रहरी निरीक्षक भट्टराईले बताए । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully