सडक सहज भएपछि कुपिण्डे तालमा आन्तरिक पर्यटकको भीड

सडक कालोपत्र भएपछि कुपिण्डे तालमा पुग्न सहज भई नयाँ वर्षमा दैनिक सयौं आन्तरिक पर्यटक आउन थालेपछि स्थानीय ब्यापारसमेत फस्टाउँदै गएको छ।

वैशाख ३, २०८३

विप्लव महर्जन

Domestic tourists flock to Kupinde Lake after road improvements

What you should know

सल्यान — सडक यातायात सहज भएपछि जिल्लाको प्रमुख पर्यटकीयस्थल तथा 'मिनी रारा'को नामले परिचित कुपिण्डे तालमा आन्तरिक पर्यटक बढेका छन् । तालसम्म पुग्ने सडक कालोपत्र भएसँगै आउजाउ सहज भएपछि यहाँ पर्यटकको संख्या बढेको हो । नयाँ वर्षको अवसरमा ताल अवलोकन तथा डुंगा सहर गर्न आउनेको संख्या झनै बढेको छ ।  

कुपिण्डे नगरपालिका–८ मा पर्ने ताल अवलोकन गर्न नयाँ वर्षको पहिलो दिन मंगलबार २ हजार जना आएका थिए । त्यसअघि र पछिका दुई दिनमा दैनिक १५० देखि २ सय पर्यटक आइरहेका छन् । आन्तरिक पर्यटक ताल अवलोकनका साथै डुंगा सयर गरेर रमाउने गरेका छन् । 

कुपिण्डे तालमा बिहानदेखि बेलुकीसम्म चहलपहल बढ्न थालेपछि  स्थानीयको ब्यापार समेत बढाएको छ । ताल परिसर अहिले खुद्रा पसलले भरिन् थालेका छन् भने स्थानीयस्तरमा उत्पादित फलफुल बिक्री गर्नेको संख्या पनि बढेको छ ।  

ताल अवलोकन गर्न आउनेलाई बस्न, खान भने पर्याप्त सुविधा छैन । घुम्न आएकालाई केही समय आराम गर्नकै लागि पनि उपयुक्त बिश्रामघर तथा प्रतिक्षालयको सुविधा नभएको स्थानीयले बताए । सडक कालोपत्र भएपछि सहजै गाडीमा आउजाउ गर्न सकिने भएपछि पर्यटकको संख्या बढेको हो । यहाँ प्राकृतिक सुन्दरताको अवलोकन, तालमा डुंगामा सयर गर्न र मन्दिर छेउमा रहेको बराह मन्दिर दर्शन गर्न आउने गरेका हुन् । यहाँ रहेको वराह मन्दिरमा पूजा गरे सन्तान प्राप्ति हुने धार्मिक विश्वास रहेको वडाध्यक्ष कुलबहादुर पुरीले बताए ।

कुपिण्डे ताल छेवैमा होटल संचालन गरेर बसेका स्थानीय सुकदेव आचार्यले ताल तथा मन्दिर अवलोकन र पूजाआजा गर्न आउनेको संख्या बढेपछि ब्यवसाय फस्टाउन थालेको र स्थानीयलाई रोजगारी मिलेको बताए । पर्यटक बढेपछि अन्य खर्च कटाएर आफुले दैनिक ४ हजारसम्म कमाइरहेको उनले जानकारी दिए । ‘रमाउने मात्र नभई मोबाइलबाट भिडियो, फोटो खिचेर टिकटक, युट्युब पोष्ट गर्ने उद्देश्यले पनि आन्तरिक पर्यटक आउने गरेका छन् । जसमा युवा पुस्ता धेरै हुन्छन्,’ उनले भने, ‘ताल र मन्दिरको अध्ययनका लागि भने कमै आएको देखिन्छ ।’ स्थानीय तहले ताल अवलोकन गर्न आउने पर्यटक, गाडी र पिकनिक खान आउनेबाट शुल्क उठाउँदै आए पनि व्यवस्थापनमा भएको बेवास्ताले ताल वरपर फोहर बढ्दै गएको उनको भनाई छ ।

कुपिण्डे ताल परिसरमै रहेको बराह मन्दिरका पुजारी तुले गोसाईले ताल अवलोकन र मन्दिरमा पूजाआजा गर्न सुर्खेत, नेपालगन्ज, दाङ, जाजरकोट, रुकुमबाट समेत आउने गरेको बताए । उनका अनुसार नजिक भएकाले सबैभन्दा बढी सुर्खेतका पर्यटक आउने गरेका छन् । ‘डिभिजन वन कार्यालय सल्यानले पर्यटन विकास कार्यक्रम अन्तर्गत अहिले ताल संरक्षणलगायत पर्यटन, प्रबर्द्धन कार्यक्रम संचालन गरेको छ । यसले अझ पर्यटक बढाउने देखिन्छ,’ उनले भने । कुपिण्डे तालको लम्बाई १ हजार २ सय मिटर, चौडाई २ सय ५० मिटर, गहिराई ५१ मिटर र परिधि २ हजार ८ सय मिटर रहेको छ । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully