चन्दननाथ, पातारासीलगायतका गाउँका किसानले ट्राउट माछापालनमा लगानी बढाउँदै स्थानीय बजारमा सस्तो मूल्यमा माछा उपलब्ध गराउँदै आएका छन्।
What you should know
जुम्ला — जिल्लामा माछापालनबाट आत्मनिर्भर हुने बढेका छन् । माछापालनका लागि आवश्यक ज्ञान हासिल गरेर उनीहरू यसमा लागिपरेका हुन् । चन्दननाथ–९ का देवन्द्रराज गिरी र ६ नम्बर वडाका दिल्लीबहादुर रावल ६ वर्षदेखि रेन्बो ट्राउट जातका माछापालन गरिरहेका छन् ।
२०७७ मा नुवाकोटबाट १५ हजार भुरा ल्याएका थिए । पहिलोपटक भएकाले भुरा जोगाउन सकेनन् । ‘प्राविधिक ज्ञान पनि भएन,’ रावलले भने, ‘उतिबेला एक भुरालाई जुम्लासम्म ल्याइपुर्याउन १९ रुपैयाँ लागत परेको थियो ।’ त्यसपछि ज्ञान हासिल गरेर उनीहरूले हरेक वर्ष माछाका भुरा पोखरीमा छाड्ने गरेका छन् । गिरीका अनुसार पहिलो वर्ष अनुभवमात्र भयो । दोस्रो वर्ष केही माछा बिक्री गर्न सफल भए । ‘अहिले पोखराबाट ठूला माछा ल्याएर पोखरीमा राखिएको छ,’ गिरीले भने, ‘पोखराबाट डेढ क्विन्टल माछा ल्याएर पोखरीमा राखेका छौं । अब यिनैबाट भुरा उत्पादन गर्ने लक्ष्य छ ।’
अहिलेसम्म ९० हजारभन्दा धेरै भुरा पोखरीमा राखिसकेका छन् । तर, परीक्षणकालमै रहेकाले आम्दानी खासै हुन नसकेको उनीहरू बताउँछन् । बजारमा रेन्बो ट्राउट प्रतिकिलो १ हजार ८ सय छ । उनीहरूले १ हजार ३ सय रुपैयाँमा बिक्री गरिरहेका छन् । एउटा ठूलो पोखरीमा ५ क्यानल बनाइएको छ । एउटा क्यानलमा डेढ क्विन्टलसम्म माछा उत्पादन हुने गरेको छ ।
सात वर्षअघि घरनजिकको नाउलोमा भुरा ल्याएर छाडेको गिरीले बताए । केही वर्ष परीक्षण गर्दा राम्रोसित हुर्किएपछि हिउँ परेर सबै माछा मरे । लगत्तै वेबसाइटमा गएर रेन्बो ट्राउट माछाका बारेमा अध्ययन गरेको उनले बताए । ‘चिसो हावापानीमा रेन्बो ट्राउट हुर्किने भएकाले व्यावसायिक रूपमा पाल्न सुरु गरेका हौं,’ उनले भने, ‘अहिलेसम्म माछापालन, भुरा खरिद, दानादेखि संरचना निर्माणमा ५० लाखभन्दा धेरै लगानी भइसकेको छ ।’
केही समयमा माछापालन गरिएकै स्थानमै होटल बनाउन १० वर्षका लागि जग्गासमेत भाडामा लिइएको उनले बताए । माछाको खपत सदरमुकाम खलंगा र आसपासका बजारमा भइरहेको छ । राम्रोसित हुर्काउन सकियो भने सुर्खेत, नेपालगञ्ज, मुगु र कालिकोटका बजारसम्म पुर्याउन सकिने रावलले बताए । ‘चिसोमा हुर्किएकाले माछा स्वादिष्ट हुन्छ । माग पनि धेरै छ,’ उनले भने, ‘तर, जुम्लामा माछाविज्ञ नभएकाले समस्या छ ।’
पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका कार्यालय प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले कार्यालयमा छुट्टै माछा विशेषज्ञ नभएको बताए । उनले भने, ‘माछापालनको लागि प्राविधिक ज्ञान भएको कर्मचारी हुनुपर्ने हो तर छैनन् । अहिले सामान्य जानेका कुराहरु माछापालक किसानसँग आदानप्रदान भइरहेको छ । तर प्राविधिक ज्ञान दिन सहज छैन । उनले भने, ‘अहिलेसम्म माछामा ठूलै रोग त देखिएको छैन । यदि रोग लाग्ने देखिएमा किसानहरूले ठूलै क्षति बेहोर्नुपर्ने देखिन्छ ।'
उनले आगामी वर्ष माछापालन किसानका लागि प्रोत्साहित गर्ने खाले कार्यक्रमको तर्जुमा गर्नेसमेत बताए ।उनका अनुसार अहिले किसानहरुले जहाँदेखि भुरा ल्याइरहेका छन्, त्यहीँदेखि प्राविधिक ज्ञान लिइरहेका छन् । ट्राउट नेपालको चिसो, सफा र बगिरहेको पानीमा पालिने एक उच्च मूल्यको माछा हो।
पातारासी–६ का राजेन्द्र बुढा पाँच वर्षदेखि माछापालन गरिरहेका छन् । चिसो हावापानीमा माछा पालन सम्भावना रहेको उनले बताए । ‘यसबाट आम्दानी गर्न सकिन्छ,’ उनले भने, ‘पोखरी बनाउँदा गाउँमा कुरा काट्नेको कमी थिएन । अहिले माछा उत्पादन गरेर बेच्न लैजाँदा छिमेकीहरू पनि हौंसिएका छन् ।’ २०७७ मा नुवाकोटको सुनखानीबाट ल्याएर छाडिएका १५ हजार भुरा हुर्किएनन् । दोस्रो पटक रसुवाबाट ल्याइएका ३० हजारमध्ये २० हजार भुरा हुर्किएको बुढ्राको भनाइ छ ।
‘ती २० हजारमध्ये पोखरीमा १० हजार भुरा छन्,’ उनले भने, ‘१० हजार बजारमा बेचिसकेको छु ।’ उनले माछापालनबाट आम्दानी लिन सुरु गरेको दुई वर्ष भइसक्यो । यस अवधिमा ७ लाख ३२ हजार रुपैयाँका माछा बिक्री गरेको उनले बताए ।
पोखरीमा अहिले १५ हजार माछा बेच्न मिल्ने अवस्थाका छन् । अहिलेसम्म १७ लाख ७५ हजार रुपैयाँ लगानी पुगिसकेको छ । बर्सेनि आम्दानी बढिरहेकाले माछापालनबाट राम्रो आम्दानी लिन सकिने राम्रो सम्भावना रहेको उनको भनाइ छ । उत्पादन गरेका माछा सदरमुकाम खलंगा बजारमा, कर्मचारी, होटलमा बिक्री हुने गरेका छन् । सदरमुकाम खलंगादेखि झण्डै ८ किलोमिटर टाढा माछापोखरी भएकाले सबैले माछा ल्याउन पोखरीमै जान सक्दैनन् । ‘सदरमुकामबाट अर्डर गर्छन्,’ बुढाले भने, ‘माछा बोकेर घरमै पुर्याइदिने व्यवस्था मिलाएको छु ।’
बुढाले डोल्पा र सिंजामा माछाका भुरा पठाएर किसानलाई माछापालनमा प्रोत्साहित गरिरहेका छन् । तातोपानीको गिडिखोलामा उनले १० हजार भुरा उपलब्ध गराएर माछापालन सुरु गराइदिएका थिए । ६ जनाको परिवार माछापालनमा लागेको छ । माछापालनले पनि स्वदेशमै रोजगारी सिर्जना गर्ने सन्देश गइरहेको छ । यो राम्रो उपलब्धि ठानेको उनको भनाइ छ ।
पातारासी–७ का गणेश बुढाले पनि २०७७ सालबाट माछापालन सुरु गरेका हुन् । डेढ वर्ष परीक्षणका लागि मात्रै माछा पालेका उनी अहिले व्यावसायिक रूपमा लागेका छन् । पहिलोपटक पोखरीमा १ सय ६० भुरा हाले । सबै बाँचे । त्यहाँदेखि उनमा माछापालन गर्न जोश जाग्यो । गत असारमा दुईवटा पोखरी बनाएर ५ हजार भुरा छाडेका छन् । अहिले राम्रोसँग हुर्किएका छन् ।
प्रतिकेजी १ हजार ८ सय रुपैयाँका दरले ४५ केजी माछा बजारमा पुर्याइसकेका छन् । खलंगा र स्थानीय पालिकाको केन्द्रमा रहेको बजारसम्म माछा लैजाने गरेको गणेशले बताए । अब पोखरीमा १ क्विन्टल ७० केजीजति माछा बाँकी छन् । यो पनि बजारमा लैजाने अवस्थाका भइसके । सन् २०१२ मा गणेश पहिलोपटक वैदेशिक रोजगारीका लागि साउदी अरब गएका थिए । त्यहाँबाट २०१४ मा घर फर्किएर फेरि सन् २०१५ मा कुबेत गए । त्यहाँबाट सन् २०२० मा घर फर्किए ।
‘त्यसपछि गाउँमै माछापालन गर्ने सोच पलाएको हो,’ उनले भने । कुवेतबाट फर्किएपछि पानी र माटोको छनोट गरे । ‘सधैं विदेशमा गएर काम छैन,’ उनले भने, ‘स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचले आफ्नै गाउँठाउँमा माछापालन व्यवसाय रोजेको हुँ ।’
