लोपोन्मुख कला–संस्कृति जगेर्नाका लागि माझफालमा 'भाका' प्रतियोगिता

कार्यक्रमका आयोजक विमल रोकायले पछिल्लो पुस्तामा मौलिक संस्कृतिप्रति चासो घट्दै जाँदा यस्ता भाका हराउने जोखिम बढेको बताए। 'हाम्रो पहिचानसँग जोडिएका भाकाहरू लोप हुने अवस्थामा पुगेपछि व्यक्तिगत पहलमै भए पनि संरक्षणका लागि प्रतियोगिता आयोजना गरेका हौं,' उनले भने, 'यसले नयाँ पुस्तामा चासो बढाउने विश्वास लिएका छौं।'

चैत्र ३०, २०८२

रामचन्द्र न्यौपाने

'Bhaka' competition in Majhfal to preserve endangered art and culture

What you should know

डोल्पा — परम्परागत कला–संस्कृति हराउँदै जाने चिन्ताबीच ठूलीभेरी नगरपालिका–५, माझफालमा भाका प्रतियोगिता आयोजना गरिएको छ। लहरे नाच, ख्याली र ठाडी भाकाजस्ता लोपोन्मुख सांस्कृतिक धरोहरको संरक्षण र पुस्तान्तरण गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो।

माझफालस्थित विद्यामन्दिर माध्यमिक विद्यालय परिसरमा रंगीन ब्यानर, बाजागाजा र सजावटसहित कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमस्थलमा राखिएको ब्यानरमा 'पुरानो भाका हाम्रो पहिचान' भन्ने सन्देश अंकित थियो। 

स्थानीय पहिरनमा सजिएका कलाकारहरू माइक्रोफोन र मादलसहित भाका प्रस्तुत गरिरहेको दृश्यले सांस्कृतिक माहोललाई अझ जीवन्त बनाएको थियो। रंगीन बेलुन र सांगीतिक प्रतीकहरूले कार्यक्रमप्रति उत्साह झल्काएको देखिन्थ्यो।

कार्यक्रमका आयोजक विमल रोकायले पछिल्लो पुस्तामा मौलिक संस्कृतिप्रति चासो घट्दै जाँदा यस्ता भाका हराउने जोखिम बढेको बताए। 'हाम्रो पहिचानसँग जोडिएका भाकाहरू लोप हुने अवस्थामा पुगेपछि व्यक्तिगत पहलमै भए पनि संरक्षणका लागि प्रतियोगिता आयोजना गरेका हौं,' उनले भने, 'यसले नयाँ पुस्तामा चासो बढाउने विश्वास लिएका छौं।'

नगर प्रमुख सुवर्ण बुढाले युगौंदेखि प्रचलनमा रहेका स्थानीय कला–संस्कृतिको जगेर्ना गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। 'हाम्रो पहिचान बचाउन सबैले जिम्मेवारी लिनुपर्छ,' उनले भने, 'प्रचारप्रसारसँगै युवापुस्ताको सक्रिय सहभागिता अत्यावश्यक छ।'

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकाल विशेष अतिथिका रूपमा सहभागी भइन्। उनले सांस्कृतिक रूपमा महत्त्वपूर्ण कार्यक्रम आयोजना गरिएकामा खुसी व्यक्त गर्दै यस्ता गतिविधिले स्थानीय पहिचान संरक्षणमा टेवा पुग्ने बताइन्। साथै, यस्ता कार्यक्रम जिल्लास्तरमै आयोजना गरिँदा थप प्रचारप्रसार हुने र व्यापक रूपमा पहिचान स्थापित गर्न सहयोग पुग्ने उनको धारणा थियो।

प्रतियोगितामा वडा नं ५ र ६ का स्थानीय कलाकारले पुराना लोकभाका, नृत्य र सांस्कृतिक प्रस्तुति राखेका थिए। आयोजक विमल रोकाय अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडीसमेत हुन्। खेलकुदसँगै सांस्कृतिक क्षेत्रमा समेत सक्रिय रहँदै उनले स्थानीय पहिचान जोगाउन गरेको पहललाई सकारात्मक रूपमा हेरिएको छ।

आयोजकका अनुसार प्रतियोगिताले स्थानीय कला–संस्कृतिलाई पुनर्जीवित गर्ने मात्र नभई नयाँ पुस्तामा यसको महत्त्वबारे चेतना फैलाउने अपेक्षा गरिएको छ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully