शनिबारदेखि सुरु भएको यो वर्षको उत्सव सोमबार सकिएको छ ।
What you should know
सुर्खेत — वीरेन्द्रनगरमा आयोजना गरिएको कर्णाली उत्सव ‘कुडा कर्नाली’को सातौं संस्करणको तेस्रो दिन महिला नेतृत्व, पर्यटन, स्थानीय संस्कृतिदेखि सिनेमासम्मका बहसहरू सञ्चालन भएका छन् ।
अन्तिम दिनको पहिलो सत्र ‘घुमिफिरि कर्नाली’ मा बोल्ने वक्ताहरूले कर्णालीमा अथाह पर्यटकीय सम्भावना भए पनि ‘आतिथ्यता’ को अभावले पर्यटक फर्केर नआउने गरेको औंल्याए । गुराँस गाउँपालिका अध्यक्ष टोपबहादुर वीसीले बाटोमा पाउने दुःख, महँगो यातायत, जोखिमपूर्ण सडक, पथप्रदर्शकको अभाव, खाना र बसाइको अव्यवस्थालगायत कारण पर्यटकले सास्ती भोग्नुपरेको बताए । ‘पर्यटकलाई स्थानीय कोदो, फापर र सिमी खुवाउनुको साटो सहरबाट लगिएका चाउचाउ र बिस्कुट खुवाउने प्रवृत्तिले स्थानीय अर्थतन्त्रलाई खासै फाइदा पुगेको छैन,’ उनले भने, ‘पर्यटकले यहाँ फोहोर मात्र छोडेर जाने तर पैसा खर्च नगर्ने अवस्थाको अन्त्य हुनुपर्छ ।’
पर्यटन उद्यमी देवराज जैशीले कर्णाली र भेरी नदी विश्वकै उत्कृष्ट र्याप्टिङ गन्तव्यमा पर्ने भए पनि पूर्वाधार अभावले लाभ लिन नसकिएको बताए । ‘अब मोटा पुस्तक र ब्रोसरको जमाना गइसकेको छ,’ उनले भने, ‘आधुनिक माध्यमबाट कर्णालीलाई डिस्कभर कर्णाली वा एडभेन्चर कर्णालीजस्ता ब्राण्डले प्रचार गर्न आवश्यक छ ।’
अभियन्ता राधा पौडेलले पर्यटन केवल घुम्नु मात्र नभएर व्यक्तिको शारीरिक, मानसिक, आध्यात्मिक, भावनात्मक, सामाजिक र वातावरणीय स्वास्थ्यसँग जोडिएको बताइन् । ‘कर्णालीको स्वच्छ वातावरण, जडीबुटी र प्राकृतिक सुन्दरता नेपालमै नमुना छ,’ उनले भनिन्, ‘कर्णालीका जडिबुटीमार्फत आरोग्य पर्यटनबाट पनि धेरै लाभ लिन सकिन्छ ।’ कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव अजितकुमार कर्णले कर्णालीको पर्यटन विकासका लागि १० वर्षे दीर्घकालीन गुरुयोजना तयार पारेर अघि बढेको जानकारी दिए ।
सबैभन्दा आकर्षक मानिएको सत्र ‘नखिचिएका सिनेमा’ मा बोल्दै अभिनेता राजेश हमालले समय आएपछि आफू राजनीतिमा आउने सम्भावना भएको बताए । ‘म राजनीतिमा चासो राख्ने, बुझ्ने व्यक्ति हो,’ उनले भने, ‘त्यसैले कुनै दिन त्यो कुरा पनि सम्भव हुनसक्छ ।’ कलाकारको पुस्तकालय भनेकै उसले भोगेको जीवन र उसले गरेको अभिनय भएको उनको भनाइ छ ।
नेपाली सिनेमाका कथा उही भए पनि प्रस्तुति शैली फरक भइरहेको हमालले सुनाए । ‘कुनै बेला नयाँ सिनेमा चल्दा उत्सवजस्तै हुन्थ्यो, धेरैजसो दर्शक यस्तो सिनेमा कसरी बन्यो भन्दै महिनौंसम्म बहस गर्थे,’ उनले भने, ‘अहिले सबैको हातमा चलचित्र छ, व्यक्तिले कुनै न कुनै हिसाबले चलचित्र बनाइरहेको छ, पहिले कलाकारले मात्र फिल्म खेल्थे, अहिले टिकटकमार्फत सबैले अभिनय गरिरहेका छन् ।’ अब सिनेमा हलभित्र जाँदा आम मानिसले गर्ने अभिनयभन्दा फरक हुनुपर्ने उनले बताए । 
अभिनय गर्दा कलाकार जतिसक्दो पात्रको चरित्रको गहिराइभित्र डुब्नुपर्ने हमाल बताउँछन् । पहिलेको सिनेमामा रहनसहन, लवाइखुवाइ र जीवनशैली पर्दामा जस्ताको तस्तै उतारिने भए पनि अहिले जीवनशैलीलाई सामान्य बनाउन थालिएको उनले गुनासो गरे । ‘त्यो बेलाको सिनेमामा जनजीवन र पर्दाबीच गहिरो सम्बन्ध हुन्थ्यो, गीत, अभिनय, द्वन्द्व सबैबाट फरक सन्देश प्रवाह हुन्थ्यो,’ उनले भने, ‘अहिले मनोरञ्जन मात्र प्रवाह भएको छ, प्राय: नयाँ चलचित्रमा सन्देश भेटिँर्दैनन् ।’
अर्को सत्र ‘हिमालयन चिकित्सा पद्धति : सोवा रिग्पा’ मा बोल्दै आम्ची पेमा लामा यांकरले बुद्धको वचनमै उपचारको विज्ञान भएको बताइन् । ‘सोवाको अर्थ उपचार र ‘रिग्पाको अर्थ विज्ञान हो,’ उनले भनिन्, ‘यो पद्धति बुद्ध र ऋषिहरूबीचको प्रश्नोत्तरका रूपमा विकास भएको हो ।’
अर्को सत्र ‘महिला मुखिया’ का सहभागी जनप्रतिनिधिले समाजको वास्तविक रूपान्तरणका लागि महिलाहरू निर्णायक पदमा पुग्नुपर्नेमा जोड दिए । भेरीगंगा नगरपालिकाकी उपप्रमुख धनसरा बोहराले महिलालाई आर्थिक रूपमा सम्पन्न नबनाई समाज नबदलिने बताइन् । ‘न्यायिक समितिमा काम गर्दा धेरै दबाब आउँछन्, तर हामी सधै न्यायको पक्षमा उभिन्छौं,’ उनले भनिन्, ‘महिलालाई सहायक भूमिका मात्र दिँदा पनि अझै महिला नेतृत्वबाट चुकिरहेका छन् ।’
गैंडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइरालाले पछिल्लो समय महिला आत्मनिर्भरतातर्फ उन्मुख भएको बताइन् । ‘अहिले महिलाहरू समाजले जहाँ खोज्छ, त्यही उभिएर सेवा गर्न प्रतिबद्ध छन्,’ उनले भनिन्, ‘चुनौतीपूर्ण राजनीतिक वातावरण र सामाजिक अवरोधका बाबजुद महिलाले नै न्यायिक निष्पक्षतालाई कायम गरिरहेका छौ ।’
शनिबारदेखि सुरु भएको यो वर्षको उत्सव सोमबार सकिएको आयोजक ऋति फाउण्डेसनले जनाएको छ ।
