यहाँका चोक, चौतारी र सडक किनारामा थुप्रिएको फोहरले दुर्गन्ध फैलिएको मात्र छैन, बजार पनि कुरूप बनाउँदै लगेको छ ।
What you should know
रुकुम पश्चिम — रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोट नगरपालिकाको खलंगा बजार क्षेत्रमा फोहर व्यवस्थापन हुन नसक्दा समस्या भएको छ । पछिल्लो चार महिनायता बजारबाट फोहर उठ्न सकेको छैन ।
फोहर व्यवस्थापन नहँुदा जिल्ला सदरमुकाम खलंगा बजार टाढाबाट हेर्दा जति सुन्दर देखिन्छ, बजारभित्र पसेपछि भने अवस्था त्यस्तो छैन । मुसिकोट–१ र ५ अन्तर्गत रहेको मुख्य बजार र आवासीय क्षेत्रबाट दैनिक करिब १० टन फोहर निस्किने गरेको नगरपालिकाको अनुमान छ ।
फोहर नउठ्दा यहाँका चोक, चौतारी र सडक किनारमा दुर्गन्ध फैलिएको मात्र छैन, बजार पनि कुरूप बनाउँदै लगेको छ । यसमा सरकारले तत्काल उचित कदम चाल्नुपर्ने माग नगरबासीको छ । स्थानीय बेलमती परियारले यसरी महिनौंसम्म फोहर उठाउन नसक्नु सरकारको कमजोरी भएको बताइन् । ‘सरकारले चाहेमा नसक्ने भन्ने हुन्छ र ? उपाय त लगाउनु पथ्यो नि ! यस्तै समस्या पर्दा टार्न सकून् भनेरै त हामीले जिताएर पठाएका हौं,’ उनले भनिन् ।
विगत १२ वर्षदेखि नगरपालिकाले वडा नं २ सतिपोलेमा फोहर व्यवस्थापन गर्दै आएकामा गत पुसदेखि स्थानीयले फोहर फाल्न गरेको अवरोध जारी छ । नगरपालिकाले सोही स्थानमा फोहर व्यवस्थापन गर्न प्रयास गरे पनि सफल नहुँदा विकल्पबारे भएका छलफल निचोडमा पुग्न नसकेको नगर प्रमुख महेन्द्र केसी बताउँछन् ।
‘सतिपोलेको जग्गा नगरपालिकाकै नाममा छ । तर त्यहाँ जम्मा हुने फोहरका कारण आफूहरुलाई असर परेको भन्दै स्थानीयले फोहर फाल्न रोक लगाए । यसको विकल्पका रूपमा पनि धेरै ठाउँबारे सरोकारवालासँग छलफल भए पनि निष्कर्ष निस्किएन,’ उनले भने, ‘अब हामी १ नम्बर वडाकै निपानेमा ल्यान्डफिल साइट बनाउँदै छौं । यसको काम सकिन त केही समय लाग्ला तर अगामी असारबाट त्यहाँ फोहर फाल्न सकिन्छ कि भन्ने हाम्रो तयारी छ ।’
विगत तीन वर्षयता निपानेमा निर्माण भइरहेको सिस्टोल ल्याम्प (फोहर फाल्ने स्थान)लाई थप व्यवस्थित गर्न सकेमा यो नै सबैभन्दा उपयुक्त ठाउँ हुने नगरपालिकाको ठहर छ । दैनिक निस्किने फोहर बजार क्षेत्रमा जम्मा हुँदै गएको छ भने धेरैले घर छेउमै जलाउने गरेका छन् । यसो गर्नाले वातावरण प्रदूषित भइरहेको छ । तर, फोहर जलाउनु आफूहरूको बाध्यता भएको स्थानीय विराज गौतमको गुनासो छ । फोहर तत्काल फाल्ने ठाउँ नहुँदा जल्न सक्ने फोहरलाई जलाउने र हरूलाई सकेसम्म पुनःप्रयोग गर्ने गरी प्रयास गर्ने गरेको उनले बताए ।
तर यसरी जथाभावी फोहर जलाउँदा यसले वातावरण र मानव स्वास्थ्यमा गम्भीर असर पार्ने जनस्वास्थ्यका जानकारहरूको भनाइ छ । यसको राम्रो विकल्प भनेको फोहरको उचित वर्गीकरण गरेर पुनःप्रयोगका लागि आवश्यक प्रशोधन गर्नु नै हो । तर यसमा नगरपालिकालाई प्राविधिक दक्षता र बजेट अभाव भइरहेको नगर प्रमुख केसीले बताए । गत वर्ष कर्णाली प्रदेश सरकारलाई यसका लागि अनुरोध गरे पनि सहयोग नभएको भन्दै अगामी आर्थिक वर्षदेखि भने नगरपालिका आफैंले केही न केही प्रयास सुरु गर्ने उनले प्रतिबद्धता जनाए ।
