अहिले भगवती महिला बचत तथा ऋण सहकारीका कागजातदेखि महत्त्वपूर्ण फाइल भेटिन छाडेका छन् । पदाधिकारीसमेत सम्पर्कविहीन हुँदा समस्या भइरहेको स्थानीयको गुनासो छ ।
What you should know
जुम्ला — जिल्लास्थित भगवती महिला बचत तथा ऋण सहकारी संस्थामा सर्वसाधारणले संकलन गरेको २७ लाख रुपैयाँ हिनामिना भएको छ । चन्दननाथ–८ र ९ का महिलाले प्रत्येक महिना एक सयका दरले गरेको बचत रकमको ९ वर्षदेखि हिसाबकिताब नै छैन ।
स्थानीय महिलाले बचत गरेको रकमको हिसाब मागेका छन् । अहिले न सहकारी छ, न त सहकारीका लागि बनेका संरचना बाँकी छन् । ‘सहकारीको रकम हाकाहाकी हिनामिना भइरहेको छ,’ सहकारीकी सदस्य बाँचु सेजुवालले भनिन्, ‘कसले छानबिन गरिदेला ।’ साबिकको तलिउम गाविसका १ देखि ९ र हालको चन्दननाथका ८ र ९ वडा सहकारीको कार्यक्षेत्र रहेका छन् । सहकारीमा ६ सयभन्दा बढी महिला आबद्ध छन् ।
तत्कालीन महिला विकास कार्यालयले १२ लाख रुपैयाँ लगानी गरेर गाउँमा सहकारी भवन बनाइदिएको थियो । महिला सक्रियता पनि राम्रो थियो । भवनमा फर्निचर थिए । अहिले उक्त सहकारीका कागजातदेखि महत्त्वपूर्ण फाइल भेटिन छाडेका छन् । पदाधिकारीसमेत सम्पर्कविहीन हुँदा समस्या भइरहेको स्थानीयको दुखेसो छ ।
यहाँका श्रीढुस्का, तलिउम, रोकायाबाडा, कोटिला, जातिभिड, बयालकाटीया र स्यालबाडाका महिलाले रकम संकलन गरेका थिए । ‘दाउरा बेचेर कमाएको रकम बचत गर्यौं, अनाज, बस्तुभाउ बेचेर पनि सहकारीमै राख्यौं,’ सेजुवालले भनिन्, ‘बचत गरेको रकमले पीडाबाहेक केही दिएन ।’ अवधि पुगेपछि दोब्बर रकम मिल्ने आशा गरेको उनले बताइन । साँवा रकम पाउन पनि अहिले कठिन भइसकेको महिलाको दुखेसो छ ।
चन्दननाथ–७ की असौजी कामीले ७९ हजार रुपैयाँ बचत गरेकी छन् । उनको पासबुकमा २०७३ सालसम्म समेत ब्याज हालेको देखिन्छ । त्यसयता अहिलेसम्म उनको रकमको हिसाबकिताब भएको देखिएको छैन । ‘पदाधिकारी र कर्मचारीले दोब्बर रकम पाउने आश्वासन दिएका थिए,’ उनले भनिन्, ‘अहिले सहकारी त छैन तर पदाधिकारी पनि भेट्न कठिन भयो ।’
स्थानीय बाँचे सुनारका अनुसार सहकारीका कर्मचारीले रकम जम्मा गरेपछि दोब्बर रकम मिल्छ भनेपछि आफूले बचत गरेको बताइन् । ‘रकम जम्मा गर्ने केही मान्छे त मरिसके,’ उनले भनिन्, ‘न्यूनतम ३३ हजारदेखि एक लाख रुपैयाँसम्म बचत गरेका छन् ।’ सहकारीको आफ्नै भवन थियो । सहकारीले महिलालाई पोसाक सिलाइदिएको थियो । कपडा सिलाउनेदेखि सिमी खरिद गर्नेसम्मको काम गरिरहेका थिए । अहिले भवन अलपत्र छ । रकम फिर्ता गर्ने वातावरण बनाइदिन महिलाहरू जिल्ला प्रशासन पुगेका छन् ।
चन्दननाथ नगरपालिकाको न्यायिक समिति गुहारे पनि सुनुवाइ भएन । अहिले पदाधिकारी र कर्मचारी सम्पर्कविहीन छन् । ‘भवन सार्वजनिक शौचालयजस्तै छ,’ बाँचेले भनिन्, ‘हाम्रो रकमको अत्तोपत्तो छैन ।’ गोमा डाँगी, राजपुरा नेपाली हुँदै माया खत्री सहकारीको अध्यक्ष भए । उपाध्यक्षमा जयलक्ष्मी बोहरा, सचिवमा कमलदेवी रावल र कोषाध्यक्षमा चैतु गिरी छन् । विष्णुबहादुर रावल र जुनकली सुनार कर्मचारी थिए ।
सहकारीले रकम फिर्ता नगरे सबै बचतकर्ताले सडकमा उभिएर आन्दोलन गर्ने निर्णय गरेका छन् । चन्दननाथ–८ का वडाध्यक्ष रूपबहादुर रोकायाले भगवती सहकारी पुरानो संस्था भएको बताउँदै आफूले वर्तमान अवस्था बुझ्न नपाएको बताए । ‘सहकारीको अहिलेको अवस्था, पदाधिकारीको अवस्था र अनियमितता भएको रकमबारेमा छलफल गर्नेछौं,’ उनले भने । स्थानीयले सहकारीमा बचत कति छ ? ऋण कति छ ? सदस्यले ब्याज कति पाउने हुन् ? यी सबैको हिसाबकिताबका लागि पहल गरिदिन सरोकारवाला निकायसँग माग गरेका छन् ।
