‘पहिले हिँडेरै घर पुग्थ्यौं, अहिले एक दिनमै गाडीले दैलोमा पुर्याउँछ,’ हुम्लाका बासिन्दा तथा कर्णाली प्रदेश योजना आयोगका पूर्वसदस्य डा. दीपेन्द्र रोकायले भने, ‘सडक निर्माण भएपछि हाट र देश जाने बाध्यता हट्दैछ ।’
What you should know
सुर्खेत — भेरी–कर्णाली करिडोर निर्माण भएपछि यहाँस्थित दुर्गम क्षेत्रका बासिन्दाको जनजीवन सहज बन्न थालेको छ । नेपाली सेनाले दुवै मार्गमा रहेका चट्टानयुक्त भूगोल पन्छाएर सडक निर्माण गरेको हो । अहिले पनि अप्ठ्यारो भूगोल छिचोल्दै सेनाले सडक निर्माण गरिरहेको छ ।
कर्णाली र भेरी करिडोर मार्ग निर्माणले सर्वसाधारणका दुःख, कष्ट कम गरेको छ । साथै नेपाल–भारत–चीनबीच त्रिदेशीय व्यापारका लागि ढोका खुलेको छ । त्यसैले सेनाले यी मार्गलाई राष्ट्रिय रणनीतिक महत्त्वको सडकका रूपमा लिएको छ ।
कर्णाली करिडोर मार्ग नेपालगन्जको जमुनाहबाट सुरु भएर हुम्लाको हिल्सासम्म रहेको छ । यसको लम्बाइ ६ सय ८२ किलोमिटर छ । भेरी करिडोर मार्ग बाँकेबाट सुरु भएर सुर्खेत, सल्यान, जाजरकोट, रुकुम पश्चिम र डोल्पाको दुनै तिन्जे हुँदै चीन स्वशासित क्षेत्र तीव्बतको सिमानासम्म रहेको छ । कर्णाली सभ्यता पुरानो भए पनि विकासमा पछाडि पर्दा स्थानीयसित उत्तिकै गहिरा पीडाका भारी छन् । कर्णाली करिडोर निर्माणले पीडामा मल्हम लगाउने काम गरेको छ । यो सडक यहाँका बासिन्दाको भविष्यसित जोडिएको छ । कठिन भू–बनोट र अग्ला चट्टानले गर्दा निर्माणमा चुनौती भए पनि सेनाले निरन्तर काम गरिरहेको छ । 
दुवै क्षेत्रका करिडोरअन्तर्गत झण्डै ८० प्रतिशत भू–भाग चट्टान रहेको छ । कर्णाली करिडोरअन्तर्गत अहिले कालिकोट र बाजुरा जिल्लाअन्तर्गत करिडोर निर्माण भइरहेको छ । सडक नहुँदा हुम्लाबाट कर्णालीको तिरैतिर १७ दिन यात्रा गरेर पहाडका बासिन्दा बर्दियाको राजापुरसम्म पुग्थे । त्यहाँ पुगेर लत्ताकपडा र घरायसी आवश्यकताका सामान खरिद गरेर फर्किन्थे ।
‘पहिले हिँडेरै घर पुग्थ्यौं, अहिले एक दिनमै गाडीले दैलोमा पुर्याउँछ,’ हुम्लाका बासिन्दा तथा कर्णाली प्रदेश योजना आयोगका पूर्वसदस्य डा. दीपेन्द्र रोकायले भने, ‘सडक निर्माण भएपछि हाट र देश जाने बाध्यता हट्दैछ ।’ आफूजस्ता पहाडमा हुर्केका नागरिकका लागि यो परिवर्तन सामान्य नभएको उनले बताए । नुन, तेल, कपडा लगायत अत्यावश्यक सामग्री किनमेल गर्नका लागि बेहोर्नु पर्ने सास्ती कम भएको उनले बताए । उनका अनुसार अहिले गाडीले आँगनमै सामान पुर्याउन थालेका छन् ।
सडक अभावमा बिरामीलाई अस्पताल पुर्याउन नसक्दा अकालमा ज्यान जाने गरेको उनले सुनाए । ‘हुम्लामा सडक पुगेसँगै कर्णालीका धेरै बस्ती राष्ट्रिय राजमार्गसित जोडिएका छन्,’ रोकायले भने, ‘सडकले समय बचत मात्र गरेको छैन, खर्च पनि घटाएको छ ।’ कर्णालीमा सडक पुर्याउन नेपाली सेनाको ठूलो योगदान रहेको उनको भनाइ छ । ठूला चट्टान फोड्ने क्रममा नेपाली सेनाले ज्यान गुमाउनु परेको उनले बताए । उनका अनुसार हुम्लाका विजय लामा खाद्यान्न, सडक र सवारी साधन जिल्लामा पुर्याउने पहिलो व्यापारी हुन् । 
जिल्लामा पर्यटन प्रवर्द्धन, हेलिकप्टर र जहाजबाट चामल पनि ओसारेको उनले सुनाए । ‘हामीले धेरै दुःख गर्यौं,’ उनले भने, ‘अहिले त धेरै परिवर्तन भयो ।’ पहिले औषधि अभावमा तड्पिएर बिरामीको मृत्यु हुन्थ्यो । बोकेर अस्पताल लैजानु पर्थ्यो । सेनाले हुम्लालाई सडक सञ्जालमा जोडिदिएकाले २ सय ५० रुपैयाँ पोका पर्ने नुन सस्तोमा उपलब्ध भएको उनले बताए । ‘सेनाले चट्टानमात्र फोडेको होइन, कर्णाली विकासको मार्गचित्र कोरेको हो,’ उनले भने, ‘वर्षौंदेखि रोकिएका सडक खण्डमा रहेका चट्टान फुटाएर निर्माणको काम गरेको हो ।’
पहिले कडा चट्टान, भिरालो भूगोल र पहिरोको जोखिम भएकाले सडक निर्माण भएको आभास नभएको उनको भनाइ छ । व्यवसायी लामाका अनुसार सडक निर्माण भएपछि पर्यटसँगै समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव परेको छ ।
करिडोर मार्ग निर्माणपछि हुम्ला, डोल्पा र जुम्लालगायतका जिल्लामा उत्पादन हुने यार्सागुम्बा, जटामसी, स्याउ र ओखरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार पाएका छन् । अहिले नेपालगन्जस्थित सीमावर्ती भारतीय सहर रुपैडियाबाट चीनको सीमा हिल्सासम्म कर्णाली करिडोर भएर एउटै गाडीमा यात्रा गर्न सकिन्छ । ‘सडक बनेपछि दुर्गम बस्तीमा पनि विकास र परिवर्तन सम्भव भइरहेको छ,’ कालिकोटका जस बोगटीले भने, ‘डोकोमा बिरामी बोकेर अस्पताल पुर्याउँथ्यौं, अहिले एम्बुलेन्स आँगनमै आइपुग्छ ।’
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले भेरी–कर्णाली करिडोरले तराईसित हिमालका बासिन्दालाई जोडेको बताए । पहाड र तराईलाई दुई छिमेकी मुलुकसित जोडेकाले रणनीतिक व्यापारिक मार्ग बन्ने शाहीले बताए । ‘कर्णाली करिडोर सम्भावनाको बलियो मार्ग हो,’ उनले भने, ‘हजारौं नागरिकको भाग्य र भविष्यसित यो गाँसिएको छ ।’ यही मार्गका कारण दुर्गमका बासिन्दाले समृद्धिको सपना देख्न थालेको उनले बताए । मार्ग निर्माणका क्रममा नेपाली सेनाका १७ जनाले ज्यान गुमाएका छन् । करिडोरअन्तर्गत लालिबगर–दुल्लीकुन्ना, घाटपारीचौर, बद्रीगाउँ–भुक्का खोला खण्डमा अहिलेसम्म ६६ करोड १७ लाख ५६ हजार खर्च भइसकेको छ ।
तत्कालीन मन्त्रिपरिषद्को २०७१ चैत ५ गतेको निर्णय अनुसार कर्णाली करिडोरमा कार्यदल खडा गरेर सेनाले काम थालेको थियो । कालिकोटको खुलालु हुँदै बाजुरादेखि हुम्लाको सल्लिसल्लाहसम्म १ सय २२ दशमलव ७५ किलोमिटर निर्माण गर्ने जिम्मा सेनाको छ । जसमध्ये कालिकोटमा ४०, बाजुरामा ४४ र हुम्लामा ३८ दशमलव ७५ किलोमिटर निर्माण पूरा गरेर २०७८ असार १८ गते सडक विभागलाई हस्तान्तरण गरिसकेको छ । त्यसपछि २०७८ असोज ५ गते दोस्रोपटक मन्त्रिपरिषद्ले कालिकोटको घाटापानीचौर हुँदै बाजुराको भुक्काखोला ११ दशमलव ५ र हुम्लाको ७ किलोमिटर निर्माणको जिम्मा सेनालाई दिएको थियो ।
२०७८ फागुन १६ गते त्यसमा ४ किलोमिटर थप गरियो । यस खण्डको काम सकेर २०८१ मंसिर २९ गते सेनाले हिल्सा सिमकोट सडक योजनालाई हस्तान्तरण गरिसकको छ । २०८१ पुस १९ गते मन्त्रिपरिषद्ले चट्टाने ८ सय मिटर सडक निर्माणको जिम्मा पनि सेनालाई दिएको थियो ।
नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता राजाराम बस्नेतले नेपालको संविधानअनुसार सेनालाई विकास निर्माणमा समेत खटाउन सकिने उल्लेख रहेको बताए । जसअनुसार भौगोलिक रूपमा विकट र अप्ठ्यारो भूबनोट रहेका स्थान र रणनीतिक महत्त्वका सडक सञ्जाल निर्माणको काम सेनाले गर्दै आएको उनले बताए । ‘कर्णाली करिडोरमा हामीले जिम्मा पाएको ८० प्रतिशत मार्ग कडा चट्टानले ढाकिएको थियो,’ उनले भने, ‘कर्णालीको समृद्धि सारथिका रूपमा रहेको सडकको काम गर्न पाउँदा गर्व लागेको छ ।’
भेरी करिडोरमा १४ वर्ष
भेरी करिडोर मार्ग सहज नहुँदा डोल्पाका बासिन्दा मनाङ–मुस्ताङ भएर यात्रा गर्न बाध्य थिए । यो मार्ग बाँकेबाट सुरु भएर सुर्खेत, सल्यान, जाजरकोट, रुकुम पश्चिम र डोल्पाको दुनै तिन्जे हुँदै चीन स्वशासित क्षेत्र तीव्बतको सिमानासम्म रहेको छ । यसलाई पनि भारत–चीन जोड्ने महत्त्वपूर्ण व्यापारिक मार्ग मानिन्छ ।
त्रिदेशीय व्यापार विस्तारका लागि कर्णाली र भेरी करिडोरको समान महत्त्व रहेको छ । भेरी करिडोर मार्ग निर्माण गर्न नेपाली सेनाले १४ वर्ष क्याम्प खडा गरेर बसेको थियो । जाजरकोट र डोल्पामा १२ वटा क्याम्प खडा गरेर काम गरेको थियो । दैनिक २०/२२ वटा कम्प्रेसर मेसिन प्रयोग गरेर भेरी करिडोरको काम सम्पन्न गरेको सेनाले जनाएको छ ।
२०६१/०६२ मा सल्यानको सल्लीबजारबाट रुकुमको चौरजहारी हुँदै जाजरकोटबाट डोल्पाको दुनैसम्म सडक बनाउन १४ वर्ष क्याम्प खडा गरेर नियमित काम गरेको सेनाको जाजरकोट–डोल्पा सडक निर्माण कार्यदलका कमाण्डर सहायक रथी विश्वबन्धु पहाडीले बताए । जाजरकोट र डोल्पामा १२ वटा क्याम्प खडा गरेर काम गरेको उनले सुनाए । यस अवधिमा सडकमात्र नभएर कालिकोट, बाजुरा र हुम्लामा ७ वटा पुल निर्माण गरिएको थियो । ‘डोल्पामा सडक पुगेपछि त्यहाँका मानिसको जनजीवनमा परिवर्तन आएको छ,’ उनले भने, ‘भूभागका हिसाबले डोल्पा निकै ठूलो छ ।’
