लाइटरले आगो बाल्ने क्रममा आगलागी भएको हो, घाइते तीनै जनाको उपचार भइरहेको छ ।
वीरेन्द्रनगर — जाजरकोटमा सिलिन्डरबाट ग्यास लिक भएर आगलागी हुँदा तीनजना घाइते भएका छन् ।
आइतबार बिहान करिब १० बजे नलगाड नगरपालिका–२ छेप्कास्थित थालुप्रसाद जैसीको भान्साकोठामा घटना भएको हो ।उनकी श्रीमती ४२ वर्षीया मायाले लाइटरले आगो बाल्ने क्रममा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
आगलागीमा परी माया, उनका २२ वर्षीय छोरा गणेश र मायाकी ३७ वर्षीया बहिनी रुपा जैसी घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक एक्कबहादुर नेपालीले जानकारी दिए ।
घाइतेहरूको नलगाड नगर अस्पतालमा उपचार भइरहेको र एकको अवस्था गम्भीर रहेको नेपालीले बताए । आगलागी नियन्त्रणमा आएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
