सौर्य ऊर्जाबाट जुम्लामा उज्यालो

स्थानीय मानबहादुर रोकायाले सौर्य ऊर्जा जडानको काम पूरा हुने बित्तिकै जिल्लाका अधिकांशले बिजुली बाल्न पाउने बताए ।

चैत्र २८, २०८२

डीबी बुढा

Solar energy lights up Jumla

What you should know

जुम्ला — सौर्य ऊर्जाबाट बिजुली उत्पादन गरेर जिल्लामा उज्यालो पुर्‍याउने तयारी तीव्र छ । यहाँको खलंगामा सौर्य ऊर्जाबाट करिब एक मेगावाट बिजुली उत्पादनका लागि कर्णाली सौर्य ऊर्जा आयोजनाको काम चलिरहेको हो । कर्णाली प्राविधिक शिक्षालयनजिकै आयोजनाको काम भइरहेको छ । 

आयोजना पूरा भएपछि जिल्लाका ९ हजार ग्राहकको घरमा उज्यालो छाउनेछ । केही समयअघि राष्ट्रिय प्रसारण लाइनको बिजुली जडान भएपछि खलंगा अन्धकारमुक्त बनेको छ । तर, बिजुली भरपर्दो नहुँदा स्थानीय मर्कामा छन् । आयोजना सुरु भएसँगै दीर्घकालीन रूपमा अन्धकार हट्ने स्थानीयले विश्वास व्यक्त गरेका छन् । 

स्थानीय मानबहादुर रोकायाले सौर्य ऊर्जा जडानको काम पूरा हुने बित्तिकै जिल्लाका अधिकांशले बिजुली बाल्न पाउने बताए । ‘एक मेगावाट सौर्य ऊर्जा जोडिनु सामान्य होइन,’ उनले भने, ‘जिल्लालाई आवश्यक बिजुली उत्पादन हुन्छ । खपत पनि उत्तिकै हुनेछ ।’ कुल २ अर्ब लगानीमा यो आयोजना निर्माण भइरहेको छ । 

आयोजनाअन्तर्गत ९ सय ५० किलोवाट बिजुली उत्पादन हुनेछ । खलंगामा साना तथा मझौला उद्योग सञ्चालनमा सहयोग हुनेछ । विद्युत् प्राधिकरण वितरण शाखाले आगामी पाँच महिनाभित्र सौर्य ऊर्जाको बिजुली घरघरमा पुर्‍याउने जनाएको छ । राष्ट्रिय प्रसारण लाइनको बिजुली धिपधिपे छ । ‘चुकेनी जलविद्युत् आयोजनाको बिजुली पर्याप्त छैन । सौर्य ऊर्जाको काम सकिएपछि जिल्ला झलमल्ल हुनेछ । 

आयोजनाले कर्णालीका हुम्ला, मुगु, जुम्ला र डोल्पामा पनि काम सुरु गरेको छ । २०७८ सालमा पहिलोपटक जिल्लामा राष्ट्रिय प्रसारण लाइन पुगेको थियो । आयोजना प्रबन्धक अभिषेक अधिकारीका अनुसार प्राधिकरण जुम्ला वितरण केन्द्रको निगरानीमा काम भइरहेको छ । वितरण केन्द्र प्रमुख ललितकुमार मण्डलले सौर्य ऊर्जाको ५० प्रतिशत काम पूरा भइसकेको बताए । ‘अहिले सिभिल कन्स्ट्रक्सनको काम धमाधम भइरहेको छ,’ उनले भने, ‘ट्रान्सफर्मर जडानको फाउडेन्सन र सोलार प्यानल जडानको काम भइरहेको छ ।’

प्यानलको चार्जर कन्ट्रोल र सोलारबाट आउने पावर कन्ट्रोल गर्ने मेसिन आउन बाँकी रहेको उनले बताए । सौर्य ऊर्जा उत्पादनका लागि १ हजार ७ सय ७२ वटा सोलार प्यानल जडान गरिनेछ । पावर कन्ट्रोलका लागि ३ सय थान ब्याट्री जडान गरिनेछ । अहिले सोलार प्यानलको फाउन्डेसन तथा रिटेनिङ वाल निर्माण भइरहेको छ । आयोजना निर्माणमा १६ जना खटिएका छन् ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully