सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्गअन्तर्गत वर्षौंदेखि अलपत्र परेका १० वटा ठेक्का चैत ११ मा तोडेको हो । त्यस्तै चार निर्माण कम्पनीसँग ‘ठेक्का अन्त्य गरी कारबाही किन नगर्ने’ सम्बन्धी सार्वजनिक सूचना प्रकाशन गरेको सूचना अधिकारी सौरभकुमार सिंहले बताए ।
What you should know
सुर्खेत — कर्णाली राजमार्गअन्तर्गत मुगुको भूलभूलेदेखि ताल्चासम्मको २० किलोमिटर सडकको स्तरोन्नतिका लागि आर्थिक वर्ष २०७४/७५ मा शंकरमाली निर्माण सेवाले झण्डै ५ करोड रुपैयाँमा ठेक्का लियो । उसले सडक चौडा बनाउने, टेवा–पर्खालहरू बनाउने र ग्राभेल गर्नेसहितको जिम्मा लिएको हो ।
कम्पनीले उक्त कामका लागि ३ पल्ट म्याद सक्दासमेत आधा काम पनि पूरा गरेन । सडक निर्माण गर्न पटक–पटक ताकेता गर्दा पनि बेवास्ता भएपछि सडक डिभिजन कार्यालयले चैत ११ गते कम्पनीको धरौटी रकम जफत गर्दै ठेक्का तोडेको छ ।
त्यस्तै आर्थिक वर्ष २०७५/७६ सालमा कर्णाली राजमार्गकै दहीखोला–नाग्मा र सेरीघाट गरी दुई खण्डमा कालोपत्र मर्मतका लागि मान शाही निर्माण सेवा कालीकोटसँग झण्डै एक करोड रुपैयाँमा सम्झौता गरिएको थियो । उसले पनि ३ पल्ट म्याद थप्यो । तर उसको प्रगति शून्य भएपछि चैत ११ मै ठेक्का तोडिएको छ ।
सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्गअन्तर्गत वर्षौंदेखि अलपत्र परेका १० वटा ठेक्का चैत ११ मा तोडेको हो । त्यस्तै चार निर्माण कम्पनीसँग ‘ठेक्का अन्त्य गरी कारबाही किन नगर्ने’ सम्बन्धी सार्वजनिक सूचना प्रकाशन गरेको सूचना अधिकारी सौरभकुमार सिंहले बताए । उनका अनुसार ठेक्का तोडेर ती कम्पनीलाई ‘कालोसूची’ मा राख्न सिफारिस गरिएको हो । उनका अनुसार ती ठेक्काहरू आर्थिक वर्ष २०७४/७५ देखिका हुन् । ‘ठेकेदार कम्पनीले सम्झौताअनुसार काम गर्न पटक-पटक ताकेता गर्दा पनि अटेर गरे, उनीहरूले दाखिला गरेको धरौटी रकम जफत गरिनेछ,’ उनले भने, ‘अब नयाँ ठेक्काको प्रक्रियामा अघि बढ्छौं ।’
सडक स्तरोन्नतिको काम अलपत्र पर्दा स्थानीयले लामो समयदेखि सास्ती भोग्दै आइरहेका छन् । विश्व बैंकको १ अर्ब रुपैयाँ सहयोगमा २०७२ सालमा गरिएको अधिकांश कालोपत्र उप्किएपछि सामान्य पानी पर्दा पनि हिलाम्मे र घाम लाग्दा धुलाम्मे सडकमा कष्टकर यात्रा गर्नुपरेको कालीकोटको खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाहीले बताए । उनका अनुसार अधिकांश ठाउँमा एक लेनको मात्र सडक हुँदा घण्टौं जाम हुने समस्या छ । कमजोर भूगोल भएकाले पहिरोको जोखिम उत्तिकै रहेको उनले जानकारी दिए ।
सबैभन्दा बढी जोखिम देखिएको कालीकोटको दहीखोला मान्म–नाग्म–जुम्ला खण्डमा स्तरोन्नतिका कामहरू अलपत्र परेको सूचना अधिकारी सिंहले बताए । उनका अनुसार आव २०७९/८० मा कृष्ण निर्माण सेवाले जिम्मा लिएको खुल्लालेदेखि घोडेंगा खण्ड, अविनाश निर्माण सेवाले जिम्मा लिएको नाग्म–गमगडी खण्ड, विनाम्रा निर्माण सेवाले जिम्मा लिएको मुगु खण्ड र धुर्वा निर्माण सेवाले २०७८/७९ मा जिम्मा लिएको कुडारी–कालीकोट खण्डको ठेक्का तोडिएको हो ।
सडक डिभिजन कार्यालयका अनुसार झण्डै १६ करोड रुपैयाँका कालीकोटका दुई, मुगुको नाग्म–गमगडी सडक खण्डको एक र जुम्ला डोल्पा हुँदै मनाङ–मुस्ताङ जोड्ने सडकका ठेक्का तोडिएको निमित्त डिभिजन प्रमुख श्रवणकुमार महताराले बताए । उनका अनुसार गत वर्ष झण्डै २० करोड रुपैयाँको लागतमा ८ वटा ठेक्कामा राजमार्ग स्तरोन्नतिका काम भइरहेको छ । दहीखोला–नाग्मा खण्डका तीनवटा योजना चालु आर्थिक वर्षमा सम्पन्न भएको उनले जानकारी दिए ।
