बिरामी बुवाको कुरुवा बनेर गएका भीमबहादुर सधैंका लागि अस्ताए

बुवाको स्वास्थ्य सुधार गर्न एम्बुलेन्समार्फत सुर्खेत जाँदै गर्दा भीमबहादुर अधिकारीको दुर्घटनामा निधन भएपछि गाउँलेहरू सामाजिक सेवामा सक्रिय युवा गुमाएको शोकमा छन्।

चैत्र २६, २०८२

डीबी बुढा

Bhim Bahadur, who became a shepherd for his ailing father, has passed away forever.

What you should know

जुम्ला — हिमा गाउँपालिका–७ का भीमबहादुर अधिकारी ७१ वर्षीय बुवा कलबहादुर अधिकारीको उपचार गर्न बुधवार एम्बुलेन्समा सुर्खेततिर जाँदै थिए । उनले जसरी पनि बुवाको उपचार गरी निको बनाएर घर फर्किने आफन्तहरूसँगको भेटमा भनेका थिए । 

६ दिनसम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भर्ना गरेर उपचार गर्दा पनि सुधार नभएपछि अस्पतालले सुर्खेतको नेपालगन्ज अस्पतालमा युरो सर्जरीका लागि भन्दै कलबहादुरलाई रेफर गरेको थियो । 

कलबहादुरका छोरा भीमबहादुरले जहाजको बाटो हेरे । जहाजमै जाने निधो गरेका उनी मौसम खराबका कारण जहाज नआएपछि एम्बुलेन्समा बुवालाई लिएर बुधबार बेलुका सुर्खेत हिँडेका थिए । 

बुधबार दिउँसो १ बजेतिर उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस पोस्ट गरे, ‘आज जुम्लादेखि सुर्खेत यात्रा शुभ रहोस्, जुम्लामा हवाईजहाज नआएर एम्बुलेन्समै लागियो ।' उनले एम्बुलेन्स नजिकै आफन्तहरूसँगै भेला भएको तस्बिरसमेत सार्वजनिक गरे । अहिले त्यो तस्बिर सामाजिक सञ्जालमा भाइरल छ । 

बुवाको उपचार गरेर निको बनाइसकेपछि परिवारमा सुखद भेट गराउने धोको उनको थियो । तर दुर्भाग्य ! न उनले बुवाको उपचार गर्न पाए, न त पारिवारिक भेटको सुखद क्षणको अनुभूति नै गर्न पाए । उल्टै एम्बुलेन्स दुर्घटनामा परेर सदाका लागि बिरामी बुवालाई छाडेर उनी नै अस्पताए । 

बिरामी लिएर बुधबार दिउँसो २ बजे सदरमुकाम खलंगाबाट एम्बुलेन्स छुटेको प्रहरीले जनाएको छ । ‘कालिकोटमा बाक्लो हुस्सु लागेको थियो । गाडी चलाउन निकै असहज थियो,’ कालिकोट प्रहरी प्रमुख डीएसपी हिमबहादुर खत्रीले भने, ‘हुस्सुका कारण एम्बुलेन्स दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।’ 

एम्बुलेन्समा परेर चालक शक्तिबहादुर शाही र भीमबहादुर अधिकारीको मृत्यु भयो । उपचार गराउन लगिएका बिरामी बुवा अहिले घाइते अवस्थामा कालिकोट जिल्ला अस्पतालमा थप उपचार गराइरहेका छन् । 

‘न बुवाको उपचार भयो, न त भीमबहादुरको बुवालाई निको बनाएर घर पुर्‍याउने सपना नै पुरा भयो,’ हिमा–६ का जीवन रावतले भने, ‘हिमा–६ ले एक व्यक्ति मात्र होइन, समाजको ऊर्जाशील शक्ति नै गुमायो । परिवर्तनको हुटहुटी बोकेको, विचारवान् र समाजप्रति अनवरत खटिने युवा शक्ति गुमायो ।’

२०७४ सालमा भीमबहादुर वडा सदस्यका रूपमा चुनिएका थिए । उनको मृत्युसँगै अहिले उनले गरेको योगदानको गाउँमा चर्चा भइरहेको छ । 

जुम्लादेखि बिरामी लिएर गएको ना०१००१झ ००२४ नम्बरको एम्बुलेन्स बुधबार बेलुकी पौने ८ बजे कालिकोटमा दुर्घटनामा परेको थियो ।  कालिकोट जिल्ला प्रहरीका अनुसार एम्बुलेन्स सडकदेखि २५ मिटर तल खसेर दुर्घटना भएको थियो ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully