सहायक प्रमुख जिल्ला अधिकारी र अधिकृत हाजिर नहुँदा जुम्लामा सेवा प्रभावित

दुर्गमका कार्यालय कर्मचारी अभावले कमजोर बन्ने र सेवाग्राही मारमा पर्ने देखिएको स्थानीय नरबहादुर बुढाले बताए । सरकारले यति लामो समयसम्म पनि सरुवा भइसकेको सहायक प्रमुख जिल्ला अधिकारी र शाखा अधिकृत खटाउन नसक्नु दुःखद भएको उनले बताए ।

चैत्र २५, २०८२

डीबी बुढा

Services affected in Jumla due to absence of Assistant Chief District Officer and officer

What you should know

जुम्ला — पाँच महिनादेखि जिल्ला प्रशासन सहायक प्रमुख जिल्ला अधिकारीविहीन छ । गृह मन्त्रालयले गत मंसिर ८ गतेबाट सहायक प्रमुख जिल्ला अधिकारीमा खटाएको शान्ति महत अहिलेसम्म अनुपस्थित छिन् । उनी नआएपछि प्रशासकीय अधिकृत मीनबहादुर रावलले उक्त भूमिका निर्वाह गरिरहेका छन् । 

जिल्ला प्रशासनमा दरबन्दी भएकी महत अहिले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा काजमा खटिएकी छन् । उनीसँगै शाखा अधिकृत रेश्मा बुढा पनि सिंहदरबारस्थित कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा काजमा रहेकी छन् । दुई जना प्रशासकीय अधिकृतको दरबन्दी रहेकामा एक जना मात्र कार्यरत छन् । 

सहायक प्रमुख जिल्ला अधिकारी महत र शाखा अधिकृत नहुँदा कामकाजमा समस्या भइरहेको छ । नयाँ सरकार बनेसँगै कामको चाप बढेको छ । हरेक दिन नयाँनयाँ परिपत्र आइरहन्छन् । जनशक्ति नहुँदा प्रभावकारी रूपमा सेवा प्रवाह गर्न नसकिएको कर्मचारीले बताए । प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले थोरै जनशक्तिको भरमा जेनतेन निर्वाचन सम्पन्न गरिए पनि अहिले कठिनाइ भइरहेको बताए । 

जिल्ला प्रशासनमा नागरिकता, राहदानी सिफारिस, शान्ति सुरक्षा समन्वय, विपद् व्यवस्थापन लगायतका दैनिक प्रशासनिक काममा प्रत्यक्ष असर परेको देखिएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलले सेवाग्राहीले समयमै सेवा नपाउँदा गुनासो बढ्न थालेको बताए । ‘कार्यालयभित्रको कार्यभार बाँडफाँटमा समस्या देखिएको छ,’ उनले भने, ‘दरबन्दी जुम्लामा छ, तर कर्मचारी यहाँ छैनन् । यसले दैनिक कामकाजमा ठूलो असर परेको छ ।’  

दुर्गमका कार्यालय कर्मचारी अभावले कमजोर बन्ने र सेवाग्राही मारमा पर्ने देखिएको स्थानीय नरबहादुर बुढाले बताए । सरकारले यति लामो समयसम्म पनि सरुवा भइसकेको सहायक प्रमुख जिल्ला अधिकारी र शाखा अधिकृत खटाउन नसक्नु दुःखद भएको उनले बताए । स्थानीयले दरबन्दी अनुसारका कर्मचारी पठाएर सेवा सहज बनाइदिन माग गरेका छन् । प्रशासकीय अधिकृत रावलले जेनतेन प्रशासनको सेवा चलिरहेको बताए ।

‘दरबन्दी अनुसारका कर्मचारी भएको भए सहज हुन्थ्यो,’ उनले भने, ‘अहिले सेवा दिन कठिनाइ भइरहेको छ ।’ एक जना प्रमुख जिल्ला अधिकारी, एक जना सहायक प्रजिअ, दुई जना प्रशासकीय अधिकृतको दरबन्दी भएकामा सहायक प्रमुख जिल्ला अधिकारी र एक जना प्रशासकीय अधिकृत आउन सकिरहेका छैनन् । अहिले कार्यालयमा चार जना नायब सुब्बा, तीन जना खरिदार, दुई जना कम्प्युटर अपरेटर र ६ जना कार्यालय सहयोगी छन् । 

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully