डिभिजन वन कार्यालयका प्रमुख टेकबहादुर रावलले कालिमाटी क्षेत्रमा बाघ र अन्यत्र चितुवा आतंक बढ्दै गएको बताए । चालु वर्षको अहिलेसम्म बाघले कालिमाटीमा दुई जनाको ज्यान लिएको र अन्यत्र ४० वटा पशुचौपाया मारेको उनले जानकारी दिए ।
What you should know
सल्यान — जिल्लामा पाटे बाघ र चितुवाले आक्रमण गरेर मानिस र पालुवा बस्तुभाउ मार्न थालेपछि सर्वसाधारण त्रसित बनेका छन् । तीन/चार महिनायता वन्यजन्तु आक्रमण बढेको छ । सर्वसाधारण हिँडडुल गर्न डराइरहेका छन् । मानवीय क्षति र बस्तुभाउ हानि वृद्धि भएको स्थानीयले बताए ।
पुस दोस्रो सातामा बाँके राष्ट्रिय निकुञ्जबाट बस्तीमा पसेको बाघले सल्यान र सुर्खेतको सिमाना कालिमाटी–७, पर्सेनीकी धनसरा रावत र कालिमाटी–६, हात्तीढुंगाका चन्द्रबहादुर खप्तडीको ज्यान लियो । गोठमा बाँधेका दर्जन गाईबाख्रा मार्यो । निकुञ्जमा खटिएका सेनाले बाघको खोजी गरे पनि फेला पार्न सकेनन् । कालिमाटी–३, साठीघारेका सागर रेउलेका जंगलमा चराउन लगेका १३ बाख्रा बाघले मार्यो । बाघले कालिमाटी र चितुवाले शारदा नगरपालिकाका केही वडा, बन्गाड कुपिण्डे नगरपालिका, छत्रेश्वरी, कपुरकोट, त्रिवेणी गाउँपालिकाका केही वडामा आतंक मच्चाइरहेको छ ।
गोठमा बाँधेका बाख्रा मारेर खान थालेपछि जंगल नजिकका स्थानीय त्रसित छन् । खसी–बोका बिक्री गरेर जीविकोपार्जन गर्दै आएका उनीहरूले आम्दानी गुमाउनु परेको छ । जंगलमा गएर घाँसदाउरा गर्न छाडेका छन् । कालिमाटी–५, ६ र ७ मा राती कोही बिरामी पर्यो भने अस्पताल लैजान कठिन छ । कालिमाटीमा बाघ र शारदा नगरपालिका–९, सुनचौर आसपास चितुवाले आतंक मच्चाइरहेको स्थानीय ज्योति पुनले बताए । उनका अनुसार चितुवाको आतंक बढेपछि जंगलको बाटो हुँदै स्थानीय एक्लै हिँड्न छाडेका छन् । कहीँ जानु परेमा सामूहिक रूपमा आउजाउ गर्छन् ।
कालिमाटी–७ का वडाध्यक्ष मित्रलाल रिजालले पछिल्लो समय बाघले मान्छेलाई आक्रमण नगरे पनि बस्तुभाउ मारेर खाइरहेको बताए । अधिकांशका घर जंगलको छेउछाउमा भएकाले स्थानीयले त्रासमा जीवन बिताइरहेको उनले बताए । कालिमाटीका एक किसानले १५ देखि ३० सम्म बाख्रापालन गरेका छन् । ‘दिन बिराएर बाख्रा मार्न थालेपछि बाख्रा पाल्न छाड्यौं,’ उनले भने, ‘मान्छे तथा पशुचौपाया मार्ने बाघ नियन्त्रणमा लिन सम्बन्धित निकायमा पुगेर आग्रह गर्नुका साथै विरोध प्रदर्शन गर्दै आए पनि कुनै फाइदा भएन, हाम्रो कुरा कसैले सुनेनन् ।’
डिभिजन वन कार्यालयका प्रमुख टेकबहादुर रावलले कालिमाटी क्षेत्रमा बाघ र अन्यत्र चितुवा आतंक बढ्दै गएको बताए । चालु वर्षको अहिलेसम्म बाघले कालिमाटीमा दुई जनाको ज्यान लिएको र अन्यत्र ४० वटा पशुचौपाया मारेको उनले जानकारी दिए । उनका अनुसार बाघ र चितुवाले पशुचौपाया मार्दा ११ लाख ३५ हजार रुपैयाँ बराबरको क्षति भएको छ । वन्यजन्तुबाट भएको क्षतिका आधारमा किसानलाई राहत उपलब्ध गराउँदै आएको उनको भनाइ छ ।
