जाजरकोटमा एसईई परीक्षामा अनियमित गरेको भन्दै तीन दिनमा २८ निरीक्षक र तीन सहयोगीलाई कारबाही गरिएको छ ।
What you should know
सुर्खेत — माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत सोमबार अनिवार्य विज्ञान विषयको परीक्षा सञ्चालनका क्रममा जाजरकोटको छेडागाडस्थित बाल माध्यमिक विद्यालय झाप्राका दुई र भेरी नगरपालिकास्थित त्रिभुवन मावि खलंगा केन्द्रका एक निरीक्षकलाई जिल्ला परीक्षा समन्वय समितिले निलम्बन गर्यो ।
आइतबार पनि अनिवार्य गणित विषयको परीक्षाका दिन समितिले ९ वटा परीक्षा केन्द्रबाट १९ निरीक्षक र ३ सहयोगी गरी २२ जनालाई कारवाही गरेको थियो । त्यस्तै अनिवार्य अंग्रेजीको परीक्षाका दिन शुक्रबार ६ जना निरीक्षकलाई हटाइएको थियो ।
जाजरकोटमा मात्र एसईई परीक्षामा अनियमित गरेको भन्दै २८ निरीक्षक र ३ सहयोगीलाई कारबाही गरिएको छ । परीक्षालाई मर्यादित बनाउन परीक्षा समन्वय समितिले प्रत्येक परीक्षा केन्द्रमा २/२ जनाका दरले अनुगमन टोली बनाइ परिचालन गर्ने गरेको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए । उनका अनुसार टोलीको सिफारिसका आधारमा निरीक्षक र सहयोगीलाई कारवाही गरिएको हो ।
‘विद्यार्थीलाई परीक्षामा मोबाइल प्रयोग गर्न दिने, चिट चोराउने र चिटको ओसारपसार गर्न सहयोग गरेको आरोपमा उनीहरूलाई कारबाही गरिएको हो,’ उनले भने, ‘केही आफ्नो नजिकका नातेदार परीक्षार्थी भएका केन्द्रमा खटिएर परीक्षालाई अमर्यादित बनाएको पाइयो, उनीहरूलाई पनि कारबाही गरिएको छ ।’
यस वर्ष परीक्षालाई मर्यादित बनाउन विद्यार्थीले अध्ययन गरेको विद्यालयभन्दा अन्यत्र परीक्षा केन्द्र कायम गरिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख यज्ञश्वर खत्रीले बताए ।
‘अन्यत्रको विद्यालयमा केन्द्र राख्दा पनि अभिभावक र आफन्त चिट चोराउन आउने प्रवृत्ति देखियो,’ उनले भने, ‘निरीक्षकले त्यसमा सहयोग गरेको र परीक्षा केन्द्रभित्र मोबाइलको प्रयोग गर्न दिएपछि कारबाही गरेका हौ ।’ उनका अनुसार जाजरकोटमा यस वर्ष ७७ माध्यमिक विद्यालयका ४ हजार ८ सय १३ विद्यार्थी एसईई परीक्षामा सहभागी छन् । जसमा ६ सय ८० जना जनशक्ति परिचालन गरिएको छ ।
