हामी हरेक सिमानाको रक्षक हौं : आईजीपी अर्याल

‘हामी हरेक सिमानाका रक्षक, पिल्लर र पर्खाल हौं भन्ने अनुभूति सिमानामा उभिने जवानलाई गराउन सक्नुपर्छ,’ सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले भने, ‘त्यसपछि मात्र तराईको तातोले पोल्दैन, हिमालको हिउँले पनि असर गर्दैन।’

चैत्र २३, २०८२

ज्योति कटुवाल

We are the protectors of every border: IGP Aryal

What you should know

सुर्खेत — सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले सिमानामा खटिने सुरक्षाकर्मीलाई राष्ट्रको वास्तविक रक्षकका रूपमा आत्मसात् गराउनुपर्नेमा जोड दिएका छन्।

सुर्खेतस्थित नं ६ महेश्वरी बाहिनी मुख्यालयको २५औं स्थापना दिवसका अवसरमा सोमबार सुर्खेत पुगेका आईजीपी अर्यालले सिमानामा खटिने जवानमा कर्तव्यबोध र आत्मगौरव विकास गराउन आवश्यक रहेको बताए।

‘हामी हरेक सिमानाका रक्षक, पिल्लर र पर्खाल हौं भन्ने अनुभूति सिमानामा उभिने जवानलाई गराउन सक्नुपर्छ,’ उनले भने, ‘त्यसपछि मात्र तराईको तातोले पोल्दैन, हिमालको हिउँले पनि असर गर्दैन।’ उनका अनुसार जवानले आफ्नो ड्युटीको महत्त्व महसुस गर्न सके मात्र उनीहरू अझ जिम्मेवार र समर्पित बन्नेछन्।

कर्णाली प्रदेशका हुम्ला, डोल्पालगायत पूर्व–पश्चिम क्षेत्रमा रहेका विभिन्न सिमानाका नाकामा खटिने सुरक्षाकर्मीको मनोबल उच्च राख्नुपर्ने आवश्यकता उनले औंल्याए। ‘सिमाना विकट छ, टाढा छ,' उनले भने, ‘त्यसैले त्यहाँ खटिने जवानको मनोबल बलियो बनाउनुपर्छ।’

कर्णालीलाई सशस्त्र प्रहरी बलका लागि ‘सहिद भूमि’को रूपमा उल्लेख गर्दै उनले सहिदप्रति सम्मान प्रकट हुने गरी काम गर्न निर्देशन दिए। ‘सहिदको आत्माले शान्ति पाउने गरी काम गर्नुहोस,’ उनले भने। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाकर्मीले खेलेको भूमिकाको प्रशंसा समेत गरे।

कार्यक्रममा नं ६ महेश्वरी बाहिनी मुख्यालयका वरिष्ठ उपरीक्षक तथा निमित्त बाहिनीपति विनोद श्रेष्ठले कर्णालीका विकट सिमानाका नाकाहरूमा सीमित स्रोत–साधनका बीच पनि सशस्त्र प्रहरीले उच्च मनोबलका साथ काम गरिरहेको बताए। कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादव, उत्तरपश्चिम पृतनाका पृतनापति दिपेशजंग शाह, प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षाकर्मी, सहिद परिवार तथा सरोकारवालाहरूको उपस्थिति थियो।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully