नरहरिनाथ गाउँपालिका–३ स्थित रमा माध्यमिक विद्यालयको निर्माणाधीन खेलमैदानसहितको भवन र रास्कोट नगरपालिका–१ रामपुरमा रहेको सुन्दर आधारभूत विद्यालय पहिरोले भत्किएपछि तिनको पुनर्निर्माण आवश्यक देखिएको हो।
What you should know
कालिकोट — कालिकोटमा परेको बेमौसमी वर्षाका कारण क्षतिग्रस्त भएका दुई विद्यालयको पुनर्निर्माणका लागि जिल्ला विपद् व्यवस्थापन समितिले सिफारिस गरेको छ।
नरहरिनाथ गाउँपालिका–३ स्थित रमा माध्यमिक विद्यालयको निर्माणाधीन खेलमैदानसहितको भवन र रास्कोट नगरपालिका–१ रामपुरमा रहेको सुन्दर आधारभूत विद्यालय पहिरोले भत्किएपछि तिनको पुनर्निर्माण आवश्यक देखिएको हो।
आइतबार बसेको समितिको बैठकले प्रहरी मुचुल्कासहित दुवै विद्यालयको पुनर्निर्माणका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तथा समितिका अध्यक्ष गोकर्णराज सुवालले जानकारी दिए। उनका अनुसार विद्यालय भवन र खेलमैदान क्षतिग्रस्त हुँदा पठनपाठनमा समस्या उत्पन्न भएकाले स्थानीय सरकार, सामाजिक विकास मन्त्रालय र शिक्षा मन्त्रालयसँग पुनर्निर्माणका लागि आग्रह गरिएको छ। थप क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउनुपर्ने पनि उनले उल्लेख गरे।
बैठकले आगामी सुख्खा यामलाई ध्यानमा राख्दै डढेलो, आगलागी, हुरीबतास र चट्याङजस्ता विपद् जोखिम न्यूनीकरणका लागि सबै निकायलाई स्रोत–साधन परिचालन गरी तयारी अवस्थामा रहन निर्देशन दिएको छ। साथै, कर्णाली राजमार्ग तथा अन्य करिडोर क्षेत्रमा सम्भावित पहिरो हटाउन सडक विभागलाई हेभी उपकरण तयारी अवस्थामा राख्न आग्रह गरिएको छ।
स्थानीय तहहरूले विपद् उद्धारका लागि खरिद गरेका सामग्री नजिकको प्रहरी कार्यालयलाई हस्तान्तरण गर्ने निर्णय भने विवादित बनेको छ। नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति बलप्रसाद सञ्ज्यालले उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै स्थानीय आपतकालीन केन्द्रहरूलाई सुदृढ बनाउनु आवश्यक रहेको बताए।
बैठकमा जिल्ला समन्वय समिति, स्थानीय तहका प्रमुखहरू, सुरक्षा निकाय, राजनीतिक दल तथा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कर्णाली र तिला नदीमा हुने डुबानका घटनामा उद्धार कार्यलाई प्रभावकारी बनाउन रबर बोट खरिद गर्ने निर्णय पनि गरिएको छ, जसका लागि विभिन्न स्थानीय तहबीच सहकार्य गरिनेछ।
त्यसैगरी, विपद् सम्बन्धी सूचना प्रभावकारी रूपमा प्रसार गर्न स्थानीय तहहरूले गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागबाट जारी सूचनाहरू आफ्ना आधिकारिक माध्यममार्फत सार्वजनिक गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले जानकारी दिए। साथै, विपद्बाट प्रभावित घरधुरीहरूको पहिचान गरी लाभग्राही सूची तयार पार्ने प्रक्रिया अघि बढाइनेछ।
