जग्गा प्राप्त भएसँगै एक अर्ब ५८ करोडको लागतमा बन्ने कर्णाली हाइअल्टिच्युड ट्रेनिङ सेन्टरले अब स्थानीय खेलाडीलाई नयाँ अवसर दिनेछ।
जुम्ला — ९ वर्षअघि संम्भाव्यता अध्ययन गरेर निर्माण सुरु भएको पातारासी–३ लोडचौरस्थित कर्णाली हाइअल्टिच्युड ट्रेनिङ सेन्टर बन्ने पक्का भएको छ । पहिले जम्मा प्राप्ति समयमै नहुँदा काम गर्न कठिन थियो । हरेक वर्ष विनियोजन हुने बजेट समेत खर्च नभएर फिर्ता गर्नुपर्ने बाध्यता थियो । तर यो पटक कर्णाली हाइअल्टिच्युड ट्रेनिङ सेन्टरको नाममा ६ हजार १ सय २० वर्गमिटर जग्गा प्राप्ति भएको हो ।
पातारासी गाउँपालिका–३ लोडचौरका लाउरो बोहोरा, गोरबहादुर बोहोरा र कुम्भ बोहोराले ट्रेनिङ सेन्टरका नाममा नि:शुल्क जग्गा उपलब्ध गराएपछि ट्रेनिङ सेन्टर बन्ने पक्का भएको हो । जिल्ला खेलकुद विकास समितिका प्रमुख कविदत्त न्यौपानले ट्रेनिङ सेन्टरको नाममा प्राप्त जग्गाको लालपुर्जासमेत राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहतालाई हस्तान्तरण गरिसकेका छन् ।
‘अहिलेसम्म बजेट आइरहने तर जग्गा प्राप्ति नहुँदा खर्च गर्न कठिन हुने अवस्था थियो,’ पातारासी–३ का वडाध्यक्ष गोविन्द रावतले भने, ‘अब आएको बजेट खर्च गर्ने र बजेट माग्ने औपचारिक बाटो खुलेको छ ।’
२०७४ पुस ३ गते तत्कालीन खेलकुद मन्त्रालयका सचिव महेश दाहालको नेतृत्वमा यो प्रशिक्षण केन्द्रको सम्भाव्यता अध्ययन गरिएको थियो ।
कर्णाली हाइअल्टिच्युड ट्रेनिङ सेन्टर समुद्री सतहदेखि २ हजार ८ सय ५० मिटर उचाईमा बन्न लागेको हो । ‘लामो समयको प्रयासपछि जग्गा प्राप्ति भएको छ,’ कार्यालय प्रमुख न्यौपानेले भने, ‘अब कर्णाली हाइअल्टिच्युड ट्रेनिङ सेन्टर बन्ने निश्चित भएको छ । अभाव, रोग र भोगको पर्याय बन्दै आएको जुम्ला खेल पर्यटनको राम्रो संभावना बोकेको जिल्लामा परिचित बन्नेछ ।’
एक वर्षअघि जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यसहितको टोली कर्णाली हाइअल्टिच्युड ट्रेनिङ सेन्टर बन्ने स्थानमै पुगेर पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाको नेतृत्वमा जग्गा व्यवस्थापन समिति समेत बनाएको थियो ।
अहिले प्राप्त भएको जग्गा पनि कर्णाली हाइअल्टिच्युड ट्रेनिङ सेन्टर बनाउन कमी देखिएको खण्डमा स्थानीयले निशुल्क जग्गा दिने प्रतिबद्धता जाहेर गरेका छन् । यो ट्रेनिङ सेन्टर बनाउन राष्ट्रिय खेलकुद परिषद्ले भ्याट सहित एक अर्ब ५८ करोड बजेट अनुमान सहित डीपीआर तयार गरेको थियो ।
अहिलेसम्म मैदान मिलाउन दुई करोड ५० लाख खर्च भएको छ । चालू आर्थिक वर्ष ०८१/०८२ मा ६ करोड ३० लाख बजेट विनियोजन भएको छ । सहरी विकास तथा भवन निर्माण आयोजनाले दुई करोड ३० लाख र राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत स्थानीय विकास कार्यालय सुर्खेतले चार करोड बजेट विनियोजन गरेको छ । समयमा जग्गा प्राप्त नहुँदा गतवर्ष विनियोजित बजेट ५ करोड ६६ लाख रुपैयाँ फ्रिज भएको थियो ।
यसपटक जग्गा प्राप्ति भइसकेकोले पनि सरकारले लगानी गर्न सक्ने वातावरण बनेको छ । कर्णाली हाइअल्टिच्युड ट्रेनिङ सेन्टर अब बन्ने निश्चित भएपछि स्थानीय निकै उत्साहित छन् । स्थानीय ललिता बोहोराले अब पातारासी गाउँपालिका खेलाडी उत्पादन गर्ने उद्योगका रुपमा स्थापित हुने बताइन् ।
‘अहिलेसम्म पातारासीको छुमचौर, विश्वको उच्च स्थानमा मार्सीधान फल्न क्षेत्रका रुपमा परिचित थियो । पातारासी हिमाल, शंकर झरना लगायतले यो क्षेत्र चिनिएको थियो,‘ उनले भनिन्, ‘अब समग्र विश्वको खेलक्षेत्रको ध्यान पातारासीमा केन्द्रीत हुनेछ । स्वदेशी तथा विदेशी खेलाडीहरु प्रशिक्षण गर्न यहाँ आइपुग्नेछन् ।’
कर्णाली हाइअल्टिच्युड ट्रेनिङ सेन्टरमा भलिबल, फुटबल, कराँते, बक्सिङ, तेक्वान्दो, बास्केटबल, एथलेटिक्सलगायत दुई दर्जनभन्दा बढी खेल खेल्न मिल्नेछ । स्विमिङ पुल, लैंगिकमैत्री छात्रावास, सुरक्षागार्ड, पाहुनाघर, टिकट काउन्टरसमेत निर्माण हुने डीपीआरमा उल्लेख छ ।
तत्कालीन रास्वपाबाट खेलकुमन्त्री बनेका विराजभक्त श्रेष्ठसमेत कर्णाली हाइअल्टिच्युड ट्रेनिङ सेन्टरको अवलोकन गरेर फर्किएका थिए । उनले १० करोड रुपैयाँ दिने प्रतिबद्धता जनाएका थिए । तर जग्गा प्राति हुन नसकेकोले बजेट दिन समस्या भएको थियो । कर्णाली हाइअल्टिच्युड ट्रेनिङ सेन्टर बनेपछि यहाँका स्थानीयको आयस्तर मात्र बढ्ने नभइ स्थानीय प्रतिभावान खेलाडीहरु समेत आफ्नो प्रतिभा देखाउन सक्ने अवसर मिल्नेछ ।
