जुम्लाको दुर्गा माविका केन्द्राध्यक्ष र निरीक्षक पदमुक्त

बिहीबार सकिएको पहिलो दिनको अंग्रेजी विषयको परीक्षामा केन्द्राध्यक्ष र निरीक्षकले लापरबाही गरेको भन्दै उनीहरूलाई जिल्ला परीक्षा समितिले पदमुक्त गरेको हो ।

चैत्र २१, २०८२

डीबी बुढा

Center head and inspector of Durga Secondary School in Jumla removed from their posts

What you should know

जुम्ला — माध्यमिक शिक्षा परीक्षा (एसईई)का लागि तोकिएको दुर्गा मावि लाम्रा केन्द्रका केन्द्राध्यक्ष मुकुन्दराज शर्मा र निरीक्षक‍ हरिदेवी रावल पदमुक्त भएका छन् । तातोपानी गाउँपालिका–५ स्थित सो केन्द्रका केन्द्राध्यक्ष शर्मा विज्ञान विषयका शिक्षक हुन् ।

बिहीबार सकिएको पहिलो दिनको अंग्रेजी विषयको परीक्षामा केन्द्राध्यक्ष र निरीक्षकले लापरबाही गरेको भन्दै उनीहरूलाई जिल्ला परीक्षा समितिले पदमुक्त गरेको हो । 

शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाका प्रमुख रमेश लुवारका अनुसार नयाँ केन्द्राध्यक्षका रूपमा सोही विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर शाहीलाई नियुक्त गरिएको छ । पहिलो दिनको परीक्षामा एउटा उत्तरपुस्तिका हराएको भनियो । दोस्रोपटक गन्दा भेटियो भनियो । यो लापरबाहीपूर्ण कार्य सञ्चार माध्यममा फैलिएपछि छानबिनका लागि शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख रमेश लुवार नेतृत्वको टोली परीक्षा केन्द्रमै पुगेको थियो । बिहान ७ बजे केन्द्रमा पुगेको टोलीले दिउँसो २ बजेसम्म छानबिन गरेको थियो । 

छानबिनका क्रममा एकपटक गन्दा नभेटिएको उत्तर पुस्तिका दोस्रोपटक गन्दा लट्पटिएको अवस्थामा भेटिएको भन्ने सुनियो । उत्तरपुस्तिका हराउनु र भेटिनुको बीचमा ठूलो लापरबाही देखिएकाले परीक्षा अवधिभर परीक्षा केन्द्रमा जान नपाउने गरेर उनीहरूलाई पदमुक्त गरिएको प्रमुख लुवारले बताए । 

शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख लुवारको नेतृत्वको टोलीले बिहानैदेखि मुचुल्का गरेर ७ नम्बर लाहाछाप लगाएको उत्तर पुस्तिकाको पोको लाम्रा प्रहरी चौकीका प्रमुख र सशस्त्र प्रहरी बलका एसपी देबबहादुर बोहराको रोहबरमा खोलेर हेरेको थियो । उनले भने, ‘हराएको भनिएको उत्तर पुस्तिका भेटियो तर केन्द्रमा लापरबाहीका कारणले यो समस्या आएको भन्दै केन्द्राध्यक्षलाई पदमुक्त गर्ने निर्णय भयो ।

केन्द्राध्यक्ष शर्मा र सो दिनको परीक्षामा कोठा नं ५ मा निरीक्षकका रूपमा रहेका शिक्षकलाई समेत पदमुक्त गरिएको हो । उत्तर पुस्तिकाको वास्तविक अध्ययन गर्दा थप उत्तरपुस्तिका हालेको देखिएन । तर उही उत्तरपुस्तिका गोलमोटल राख्नु पनि गलत भएको निष्कर्ष टोलीले निकालेको छ । नवनियुक्त केन्द्राध्यक्ष शाहीले अंग्रेजी विषयको परीक्षामा संलग्नलाई निरीक्षकका रूपमा नराख्ने बताए । उनले भने, ‘अब कडाइका साथ नयाँ तरिकाले परीक्षा चलाइनेछ । परीक्षालाई मर्यादित र शान्तिपूर्ण बनाउन पहल हुनेछ ।’ 

दुर्गा मावि लाम्रा केन्द्रमा गणेश मावि राँका, नेत्रज्योति मावि हाँकु र हिमशिखर मावि तातोपानी लगायत तीन विद्यालयका ग्रेडवृद्धिसहित १ सय ४२ जना विद्यार्थी सहभागी छन् । जिल्लाभर शान्तिपूर्ण रूपमा परीक्षा चलिरहेको शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाले जनाएको छ । प्रमुख लुवारका अनुसार सबै केन्द्रका उत्तरपुस्तिका परीक्षण कार्यसमेत चलिरहेको छ ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully