वडा कार्यालयमा काम गर्ने क्रममा राजनीति गर्न पनि पढाई अति आवश्यक लागेपछि वडाकै विद्यालयमा कक्षा १० मा भर्ना भएर यसपाली एसईई दिइरहेको उनले बताए ।
What you should know
सल्यान — पढाईलाई उमेरले छेक्दैन भन्ने उखानलाई प्रमाणित गर्दै सल्यानमा ४० वर्षीय वडाध्यक्षले एसईई दिइरहेका छन् । सल्यानको दार्मा गाउँपालिका–५ का वडाध्यक्ष सुदीप केसीले दार्माकोटस्थित नेपाल राष्ट्रिय मावि केन्द्रबाट एसईई दिइरहेका हुन् ।
२०७४ मा वडा सदस्य रहेका उनी २०७९ मा वडाध्यक्ष निर्वाचित भएका थिए । २०६२ सालमा कक्षा १० को पढाइ छाडेर भारत गएका उनले २० वर्षपछि एसईई दिइरहेका हुन् । ‘उतिबेला पढ्दै गर्दा टेष्ट परीक्षा दिए लगत्तै साथीहरुको लहैलहैमा लागेर भारत गए । पारिवारिक जिम्मेवारीले बीचको समयमा पढ्न पाएन,’ उनले भने, ‘पैसा कसरी कमाउने भन्ने सोचमै विभिन्न काममा अल्मलिए । पढ्नु पर्छ भन्नेतर्फ ध्यानै गएन ।’
भारतमा चार वर्ष काम गरेर फर्केपछि उनी २०६६ देखि चार वर्ष वैदेशिक रोजगारीमा मलेसिया गए । त्यहाँबाट फर्केर जेसिवी किनेर चलाए । संघीयता पश्चात राजनीतिमा प्रवेश गरेका उनी २०७४ मा वडासदस्य र २०७९ मा वडाध्यक्ष निर्वाचित भए ।
वडा कार्यालयमा काम गर्ने क्रममा राजनीति गर्न पनि पढाई अति आवश्यक लागेपछि वडाकै विद्यालयमा कक्षा १० मा भर्ना भएर यसपाली एसईई दिइरहेको उनले बताए । आउँदा दिनमा पढाईलाई निरन्तरता दिने वडाअध्यक्ष केसीले बताए । नियमित विद्यालय नगए पनि घरमै गरेको अध्ययनले पहिलो र दोस्रो दिनको परीक्षा राम्रै भएको उनले बताए । ‘अहिलेको समयमा पढाई विनाको राजनीति काम छैन । त्यसैले पढ्न आवश्यक छ,’ उनले भने ।
विगतमा भन्दा अहिले परीक्षा प्रणालीमा परिवर्तन आएको आफुले महसुस गरेको अध्यक्ष केसिले जानकारी गराए । ‘छोराछोरीको उमेरका किशोरकिशोरीसँगै परीक्षा देख्दा पहिलो दिन केही अप्ठेरो महशुष भए पनि आफ्नो पढ्ने चाहना पूरा भइरहेकाले सहज लाग्न थालेको उनले सुनाए । ‘आफ्नो इच्छा जसरी भए पनि पूरा गर्नुपर्छ भन्ने सोचका साथ अगाडि बढ्दा अप्ठेरो लाग्न छाडेको छ । सबै साथीजस्ता भएका छन्,’ उनले भने ।
