इनिशा विकको २७ दिनपछि अन्त्येष्टि 

इनिशाका बुवा इन्द्रबहादुर विकले भने, ’शव जलाइयो, न्याय पाउने आशमा छु।’

चैत्र १९, २०८२

ज्योति कटुवाल

Inisha Bik's funeral held after 27 days

सुर्खेत — सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ की १६ वर्षीया इनिशा विकको शव २७ दिनपछि दाहसंस्कार गरिएको छ । 

शव बुझ्दै इनिशाको परिवारले बिहीबार भेरी नदीमा अन्त्येष्टि गरेका हुन् । गत फागुन २३ गते विद्यालय जान्छु भन्दै घरबाट निस्किएकी इनिशा वीरेन्द्रनगर–४, जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन्। घटनालगत्तै पुगेको प्रहरीले कर्णाली प्रदेश अस्पताल पुर्‍याएको थियो । तर चिकित्सकले इनिशालाई मृत घोषणा गरेका थिए। 

मृतकका आफन्तले सामूहिक बलात्कारपछि हत्या भएको आशंकामा चारजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा किटानी जाहेरी दर्ता गरेका थिए । मंगलबार जिल्ला अदालतले चारै जनालाई अनुसन्धान पूरा नभएसम्म पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेसँगै परिवारले शव बुझ्नेका हुन् । उनका बुवा इन्द्रबहादुर विकले भने, ’शव जलाइयो, न्याय पाउने आशमा छु।’ 

चारै अभियुक्त १६ देखि १७ वर्षका छन्। 'वीरेन्द्रनगर–४’ बाहेक अन्य तीन जना इनिशाका सहपाठी हुन्। जिल्ला सरकारी वकिल कार्यालयले चारै जनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सामूहिक बलात्कार र हत्याको मुद्दा सुर्खेत जिल्ला अदालतमा दर्ता गरेको छ । 

प्रहरी अनुसन्धानपछि सरकारी वकिल कार्यालयले ४१ पृष्ठ लामो अभियोगपत्र अदालतमा पेस गरेको थियो । अभियोगपत्रमा चार अभियुक्तसहित ३३ जनाको बयान समावेश गरिएको छ ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully