उनीहरूको साथबाट बिलबुकलगायतका कागजात पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
वीरेन्द्रनगर — बिचौलियाको काम गरेको आरोपमा सुर्खेत प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएको छ । वीरेन्द्रनगरस्थित यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालयबाट उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
दुवै कार्यालयबाट १० महिला र ६ पुरुष गरी १६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।
सेवाग्राहीको सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिन्छु, जग्गा नामसारी तथा भू–सेवासम्बन्धी काम गरिदिन्छु भन्दै रकम लिई बिचौलियाका रूपमा कार्य गर्दै आएका उनीहरूलाई नियन्त्रणमा लिइएको उनले बताए। उनीहरूले बिचौलियाको काम गर्दै सार्वजनिक सेवा प्रवाहमा अवरोध गरेको आरोप छ ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट बिलबुकलगायतका कागजात पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
