अलपत्र परेको डेढ वर्षपछि रिटेनिङ्ग वाल निर्माणको काम पुन: सुरु

सडकको पहिरो नियन्त्रण र बस्तीका घर जोगाउन गरिज्युलामा निर्माण सुरु गरेको रिटेनिङ्ग वाल डिजाइनमा समस्या आउनुका साथै पेटी ठेकेदारले विभिन्न कारण देखाउँदै झारा टार्ने मात्र काम गर्दा डेढ वर्षदेखि अलपत्र परेको थियो ।

चैत्र १७, २०८२

विप्लव महर्जन

Retaining wall construction work resumes after a year and a half of stalling

सल्यान — जिल्लाको त्रिवेणी र कालिमाटी गाउँपालिका जोड्ने लुहाम–काभ्रा–रामपुर सडक खण्डको त्रिवेणी गाउँपालिका–३ गरिज्युलास्थित शारदा नदीको किनारमा निर्माणाधीन अवस्थामा अलपत्र परेको रिटेनिङ्ग वाल निर्माण कम्पनीले डेढ वर्षपछि पुन: काम सुरु गरेको छ । 

सडकको पहिरो नियन्त्रण र बस्तीका घर जोगाउन गरिज्युलामा निर्माण सुरु गरेको रिटेनिङ्ग वाल डिजाइनमा समस्या आउनुका साथै पेटी ठेकेदारले विभिन्न कारण देखाउँदै झारा टार्ने मात्र काम गर्दा डेढ वर्षदेखि अलपत्र परेको थियो । 

चार वर्षअघि वर्षातको समयमा शारदा नदीले कटान गर्दा गएको पहिरोले सडकको आधा भाग बगाएपछि बस्तीका घरहरु उच्च जोखिममा पर्दा पहिरो नियन्त्रणका लागि पर्खाल नलगाउँदासम्म गाडी चल्न नदिने भन्दै स्थानीयले अवरोध गरेपछि पूर्वाधार विकास कार्यालय सल्यानले २०७८ मा ठेक्का आह्वान गरेर १ करोड ८२ लाखमा सिस्ने कन्ट्रक्सनलाई पर्खाल निर्माण गर्ने जिम्मेवारी दिएको थियो ।

२०७८ साल चैत्रमा निर्माण कम्पनीले पर्खाल निर्माण सुरु गरेको थियो । पर्खालको लम्बाई १ सय ९० मिटर रहेको थियो । २०८० साल जेठ ३० मा सम्पन्न गर्ने सम्झौता भए पनि उक्त समय सकिँदा २० प्रतिशत मात्र काम सम्पन्न गरी निर्माण कम्पनीले त्यतिकै छाडेको थियो ।

कार्यालयले पटक–पटक ताकेता गर्नुका साथै काम नगरे कालोसुचीमा राख्ने चेतावनी दिए पनि निर्माण कम्पनीले टेरेको थिएन । पर्खाल निर्माणको काम लामो समय रोकिँदा गाडेका सरिया खिया लागेर बाङ्गिएका थिए । 

पटकपटकको दबाबपछि कागज गराएर अलपत्र छाडेको डेढ वर्षपछि कम्पनीले अहिले पुन: काम सुरु गरेको पूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख नविन कुमार थापाले बताए । पहिलाको डिजाईनमा केही समस्या देखिएकाले बदलेको उनले जानकारी गराए । 

‘पहिला निर्माण कम्पनीले पेटी ठेकेदारलाई कामको जिम्मा लगाएको थियो । पेटी ठेकेदारले झारा टार्ने मात्र काम गरेको थियो । चौतर्फी दबाब बढेपछि मुख्य ठेकेदारलाई नै ल्याएर कागज गराई अहिले काम गराइरहेका छौं । पहिला २० प्रतिशत मात्र काम गरेर त्यत्तिकै छाडेको योजनाको अहिले ९० प्रतिशत काम सम्पन्न भएको छ,’ उनले भने, ‘२०८० मा सम्पन्न हुने योजना ठेकेदारले लापरबाही गर्दा दुई पटक म्याद थप्नु परेको छ ।’ 

पहिला ९ मिटर उचाई रहेको रिटेनिङ्ग वालको काम सम्पन्न गर्दा भत्किने सम्भावना बढी देखिएका कारण अहिले डिजाइन बदलेर उचाई घटाएको कार्यालयका इन्जिनियर भरत कुमार शर्माले बताए । ‘पहिला काम गर्ने जिम्मा पाएको पेटी ठेकेदारले पर्खालको ढलान नगरी त्यत्तिकै छाडेको थियो । अहिले ढलानको काम सम्पन्न भैसकेको छ । ठेकेदारले खाली ठाउँमा माटो भर्ने काम गरिरहेको छ । रिटेनिङ्ग वालको काम यो आर्थिक वर्षभित्रै सम्पन्न हुन्छ,’ उनले भने । 

पेटी ठेकेदारका कारण बेलाबेलामा जिल्लामा सञ्चालित योजनामा विभिन्न किसिमका समस्या देखिँदै आएको उनको भनाइ छ । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully