जुम्लाका एक प्रधानाध्यापकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

उनीहरूविरुद्ध १ लाख ४५ हजार ३ सय ५० रुपैयाँ बिगो रकम कायम गरी कैद र जरिवानाको सजाय हुनुपर्ने मागदाबीसमेत गरिएको छ ।

चैत्र १७, २०८२

डीबी बुढा

Corruption case against three people, including a principal from Jumla

What you should know

जुम्ला — जुम्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर महतसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । उनीहरूविरुद्ध छात्रवृत्ति रकम पाँच वर्ष नबाँडेको र दिवा खाजाको रकम हिनामिना गरेको आरोप छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयले सोमबार  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीलप्रसाद भट्टराई र लेखा सहायकविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

आरोपपत्रमा आर्थिक वर्ष २०७९/८० मा विद्यालयलाई प्राप्त १ लाख ४५ हजार ३ सय ५० रुपैयाँ छात्रावृत्ति रकम हिनामिना गरेको उल्लेख छ । प्रधानाध्यापक महतले २०८० चैत २१ मा कक्षा १ देखि ५ सम्मका छात्रालाई छात्रवृत्ति रकम १ हजार रुपैयाँको दरले ८३ जनालाई र कक्षा ६ देखि ८ सम्मका छात्रालाई १ हजार ४ सय ८५ रुपैयाँ २३ पैसाका दरले ४४ जनालाई ६५ हजार ३ सय ५० रुपैयाँ गरी जम्मा १ लाख ४८ हजार ३ सय ५० रुपैयाँ वितरण गरेको भर्पाई तातोपानी गाउँपालिकालाई पठाएको देखिएको छ ।

विद्यालयलाई प्राप्त छात्रवृत्ति रकम सम्बन्धित छात्राहरूलाई वितरण गरेको नदेखिएको तथा प्रतिवादीहरूले एकापसमा मिलेमतो गरी २०८० असोज २१ गते झुट्टा भर्पाई बनाइ किर्ते गरी २०८० चैत २१ मा छात्रवृत्ति वितरण गरेको अर्को झूट्टा भर्पाई तयार गरेको पुष्टि भएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेले प्रेस विज्ञप्ति निकाल्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा उनीहरूविरुद्ध १ लाख ४५ हजार ३ सय ५० रुपैयाँ बिगो रकम कायम गरी कैद र जरिवानाको सजाय हुनुपर्ने मागदाबीसमेत गरिएको छ ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully