झण्डै दुई महिनासम्म चलेको प्रदेश सभाको हिउँदे अधिवेशन आइतबारदेखि अन्त्य गरिएको छ ।
वीरेन्द्रनगर — कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशनले दुई विधेयक र एक संकल्प प्रस्ताव पारित गरेको छ । १३ घण्टा ४२ मिनेटमा १० वटा बैठक बसेर हिउँदे अधिवेशन समाप्त भएको हो ।
हिउँदे अधिवेशनमा प्रदेश सभाले कर्णाली प्रज्ञा प्रतिष्ठान गठन गर्न बनेको विधेयक, २०८२ पारित गरेको छ भने केही प्रदेश ऐन संशोधन विधेयक पनि पारित भएको छ । यस अवधिमा कर्णाली प्रदेश सभामा कर्णालीका हिमाली जिल्लाहरूमा हवाई सेवा सञ्चालन गर्नेसम्बन्धी संकल्प प्रस्ताव पारित गरिएको छ ।
झण्डै दुई महिनासम्म चलेको प्रदेश सभाको हिउँदे अधिवेशन आइतबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको हो ।
कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशीले प्रदेश सरकारको सिफारिसमा दोस्रो कार्यकालको सातौं अधिवेशन अन्त्य गरिएको पत्र प्रदेश सभा सचिवालयमा पठाएका थिए । आइतबारको बैठककमा सभामुख नन्दा गुरुङले प्रदेश प्रमुखको कार्यालयबाट प्रदेश सभाको सातौं अधिवेशन अन्त्यको पत्र वाचन गरेर आइतबार राती १२ बजेदेखि अधिवेशन अन्त्यको घोषणा गरिन् ।
यसबीचको अन्य समयमा प्रदेश सभा सदस्यहरूले बैठकमा सरकार पक्ष र प्रतिपक्षबीच आरोप प्रत्यारोपमै बढी समय खर्चिए । आइतबारको समापन बैठकमा पनि त्यही आरोप प्रत्यारोप दोहोरियो । सत्ता पक्षका सांसदहरूले सरकारको बचाउ गरे भने प्रतिपक्षका सांसदहरूले सरकारको आलोचना गरे ।
प्रदेश सभा बैठकमा सांसदहरूले कर्णालीको बजेट कार्यान्वयनको अवस्था कमजोर भएको भन्दै बजेट कार्यान्वयन बढाउने गरी योजना बनाउन माग गरे । प्रदेशसभा बैठकमा बालेन्द्र शाह सरकारले केपी ओली र रमेश लेखकलाई गरेको पक्राउले मुलुक अस्थिरतातर्फ धकेलिएको सांसदहरूले जिकिर गरेका थिए ।
