विद्यालयबाट टाढा केन्द्र तोकिँदा विद्यार्थीले बस्ने, खाने असुविधा, दुर्ब्यवहारको जोखिम समेत बढेको अभिभावकको भनाइ छ ।
What you should know
कालीकोट — माध्यमिक शिक्षा परीक्षा (एसईई) मर्यादित बनाउने भन्दै ‘होम सेन्टर’ परिवर्तनले मारमा परेको विद्यार्थी र अभिभावकले गुनासो गरेका छन् । आफूले पढेका घरनजिकका विद्यालयको सट्टा टाढाका विद्यालयमा परीक्षा केन्द्र तोकिएपछि आर्थिक र मानसिक समस्या भइरहेको विद्यार्थी र अभिभावकको गुनासो छ । वर्षभरी पढाइ जोड दिनुपर्नेमा सिकाइ सुधार्ने नाममा परीक्षा केन्द्र परिवर्तन गर्ने कामले विद्यार्थीलाई मार्का परेको खाडाचक्र–३ का अभिभावक नवराज विश्वकर्माले बताए ।
‘होम सेन्टर’ परिवर्तनले एसईईमा सहभागी हुने विद्यार्थीले सामल (खाद्यान्न) बोकेर केन्द्र नजिकका बस्तीमा कोठा खोज्न समस्या भइरहेको जनजीवन मावि ताडीका अभिभावक विश्वकर्माले बताए । ‘सरकारी नियकाले वर्षभरी पढाईमा ध्यान दिँदैनन् । होम सेन्टर भनेर परीक्षाको बेला विद्यार्थीलाई सामल बोकेर अन्य ठाउँमा पठाउन हामीलाई असहज भएको छ,’ उनले भने, ‘आफूले बसेको ठाउँ र पढेको विद्यालयभन्दा टाढा जाँदा बालिकामाथि दुर्ब्यवहारको जोखिम पनि हुन्छ ।’
पाँच वर्षअघि यहाँको जनज्योति मावि पाखाबाट एसईई दिन कालिका मावि गेला गएकी एक छात्रामाथि दाहाका युवाबाट जबर्जस्तीकरणी घटना भएको थियो । बलात्कार अभियुक्त युवक अहिले कारागारमा छन् । तीन वर्षअघि चन्द्रसूर्य माविबाट परीक्षा दिन महादेव मावि राराकाटिया गएकी अर्की छात्रामाथि यौन दुर्ब्यवहार गर्ने शुभकालिकाका युवाले भने माफी मागेर सुल्झाइएको अधिकारकर्मी जीवन सुनारले बताए । परीक्षाका बेला विद्यार्थीलाई टाढा पुर्याएर तनाव दिने काम बन्द गरिनुपर्ने उनले बताए ।
प्राविधिक धारतर्फका विद्यार्थीको परीक्षा केन्द्र सरमुकामस्थित पञ्चदेव माविमा तोकिएको छ । कालीकोटको सबैभन्दा टाढा पर्ने पलाता–६ स्थित देउली मावि उखाडी र सरस्वति मावि राडुनेटा धौलागोह, महाबैस्थित हिमालय मावि डाँडाखला र कालिका मावि गेला, रास्कोटको मोतिराम मावि सिप्खाना र जनजागृति मावि फूकोट, सान्नीत्रिवेणीका पञ्चदेवल मावि मेहेलमुडी र शंकर मावि सेरिज्यूलला, पचालझरनाको पञ्च कालिका मावि बाँझकोट, नरहरिनाथको नन्दादेवी मावि माल्कोट र खाडाचक्रको विजोशी मावि चौकीका विद्यार्थी परीक्षा दिन मान्म आउनुपर्ने छ ।
होम सेन्टर परिवर्तन भएकाले यहाँका ७६ वटा माविका विद्यार्थीले जिललाभरका २० वटा परीक्षा केन्द्रबाट एसईई दिने छन् । पढेको विद्यालयमै परीक्षा केन्द्र हुँदा पनि सम्बन्धित विद्यालयको अन्यत्र केन्द्र तोकिनु बालबालिकालाई जोखिम र झन्झटमा पार्ने काम भएको मनोविमर्शकर्ता अपेक्षा सिंह बस्नेतले बताइन् । ‘परीक्षाको बेला छात्रभन्दा छात्रालाई संरक्षणको जोखिम हुन्छ,’ उनले भनिन्, ‘बस्ने खाने असुविधा त छदै छ, हिंसा र दुर्ब्यवहारको जोखिम पनि त्यत्तिकै हुन्छ ।’
एसईईका बेला चिट चोराउन अभिभावकको भीड लाग्ने भएकोले विगतकै निरन्तरता स्वरुप होम सेन्टर परिवर्तन गरिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख हर्षप्रसाद चौलागाईले बताए । उनले होम सेन्टर परिवर्तन राष्ट्रिय परिक्षा बोर्डको निर्देशन अनुसार गरिएको सुनाए । परीक्षामा अमर्यादित गतिविधि रोक्न, विद्यार्थीको वास्तविक सिकाइ उपलब्धिको सही मापन गर्न, विद्यार्थीमा पठन संस्कृतिको विकास गर्न परीक्षा बोर्डको मापदण्डअनुसार केन्द्र तोकिएको उनले बताए ।
उनकाअनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हुने जिल्ला परीक्षा समन्वय समितिको बैठकले केन्द्र तोक्ने गरिएको छ । कालीकोटको भूगोलअनुसार केही विद्यालयका विद्यार्थीलाई कठिनाई भएको सुनाउँदै सकेसम्म पायक पर्ने ठाउँमा मिलाउने प्रयास गरिएको जानकारी दिए । भौतिक पूर्वाधार, फर्निचरको उपलब्धता, घेरबार, खानेपानी, शौचालयको सुविधा हेरेर केन्द्र तोकिएको परीक्षा समन्वय समितिका सदस्य सचिव चौलागाईले बताए ।
आउँदो बिहीबिारदेखि संचालन हुने यस वर्षको एसईईमा सहभागी हुने विद्यार्थीलाई यहाँका ७६ वटै माविले विदाई गरेका छन् । यसवर्ष एसईईमा कालीकोटका २० वटा परीक्षा केन्द्रबाट नियमित तर्फ २ हजार ९ सय ६७, ग्रेडबृद्धितर्फ ६ सय ७९, प्राविधिक धारतर्फ ७१ गरी ३ हजार ७ सय १० विद्यार्थी छन् ।
