‘बजेट किन प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेन भन्ने प्रश्नको जवाफ तपाईंहरूले खोज्नुपर्छ,’ मुख्यमन्त्री यामलाल कँडेलले मन्त्री र सचिवहरूलाई सम्बोधन गर्दै भने, ‘समस्या देखाउने होइन, समाधान गर्ने जिम्मेवारी पनि तपाईंहरूकै हो।’
सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्री र सचिवहरूलाई पुरानो कार्यशैलीमा सुधार गरेर परिणाममुखी ढंगले काम गर्न निर्देशन दिएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगरमा सोमबार आयोजित बजेट कार्यान्वयन, आयोजना छनोट मापदण्ड र कार्यविधिसम्बन्धी छलफल कार्यक्रममा उनले बजेट कार्यान्वयनमा ढिलाइ र सुस्तताप्रति असन्तुष्टि व्यक्त गर्दै यस्तो निर्देशन दिएका हुन्।
‘बजेट किन प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेन भन्ने प्रश्नको जवाफ तपाईंहरूले खोज्नुपर्छ,’ उनले भने, ‘समस्या देखाउने होइन, समाधान गर्ने जिम्मेवारी पनि तपाईंहरूकै हो।’ उनले पुरानो कार्यशैलीका कारण विकास निर्माणका काम प्रभावित भएको उल्लेख गर्दै काम गर्ने तरिका परिवर्तन गर्न आग्रह गरे।
‘पुरानो शैली सुधार्नूस्, नयाँ ढंगले काम गर्न सिक्नूस्,’ उनले भने, ‘जनताले परिणाम चाहेका छन्।’ कार्यालयमा फाइल रोकिने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै उनले कुनै पनि मन्त्रालयमा फाइल अनावश्यक रूपमा नरोकिने सुनिश्चित गर्न निर्देशन दिए। 'फाइल किन रोकिन्छन् ? यस्तो प्रवृत्ति तुरुन्त अन्त्य गर्नुहोस्,' उनले भने ।
