कपुरकोट गाउँपालिका–५ का दलबहादुर विकको घर बिहीबार राती आगलागीमा पर्दा जलेर नष्ट भएको थियो । एकतले छाने घर जलेर नष्ट भएपछि बास बस्नका लागि समस्या भएकाले सामूहिक सहयोगमा पुनर्निर्माण थालिएको कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले बताए ।
सल्यान — आगलागी हुँदा जलेको सल्यानको कपुरकोट गाउँपालिका–५ का दलबहादुर विकको घर सामूहिक सहयोगमा पुनर्निर्माण सुरु भएको छ । स्थानीय सिन्दुरी टोल विकास संस्था, प्रहरी र गाउँपालिकाको सहयोगमा शुक्रबारदेखि पुनर्निर्माण सुरु भएको हो ।
विकको घर बिहीबार राती आगलागीमा पर्दा जलेर नष्ट भएको थियो । एकतले छाने घर जलेर नष्ट भएपछि बास बस्नका लागि समस्या भएकाले सामूहिक सहयोगमा पुनर्निर्माण थालिएको कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले बताए ।
जलेर नष्ट भएको घरको पर्खाल भत्काउन र सरसफाइ गर्न थालिएको उनले जानकारी गराए । उनका अनुसार सुरक्षाकर्मी, स्थानीय गरी १० जना काममा खटिएका छन् । घरमा भएका सबै सामग्री जलेपछि जिल्ला प्रहरी कार्यालय सल्यान र कपुरकोट गाउँपालिकाले चामल, दाल, तेल, सुत्नका लागि म्याट लगायतका सामग्री उपलब्ध गराएका छन् भने स्थानीय तथा बाहिरका दाताले ४० हजार रकम सहयोग गरेका छन् ।
आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारलाई विगतदेखि जिल्ला प्रहरी कार्यालय सल्यानले सघाउँदै आएको र त्यही अनुसार विकको घर पुनर्निर्माणमा सघाएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरिक्षक डा. हेमबहादुर केसीले बताए ।
