निर्माण सम्पन्न हुने बेला वर्षाले खेलमैदान भत्किएर विद्यालय भवन समेत जोखिममा परेको प्रधानाध्यापक तपेन्द्र महताराले बताए ।
कालीकोट — मंगलबारदेखिको वर्षाले नरहरिनाथ–३ कुमालगाउँस्थित रमा माविमा निर्माणाधीन खेलमैदान भत्किएको छ ।
कर्णाली प्रदेश सरकार र नरहरिनाथ गााउँपालिकाको लागत साझेदारीमा दुई वर्षदेखि निर्माणाधीन रहेको खेलमैदान बुधबार बिहान भत्किएको हो ।
०७७ मा पहिरो गएर जोखिममा परेको विद्यालयमा ७० लाख रुपैयाँको लागतमा खेलमैदान निर्माण भइरहेको थियो । विद्यालय भवन पहिरोको जोखिममा परेपछि भू तथा जलाधार संरक्षण कार्यालयको सहयोगमा दुई वर्षअघि ग्याबिन जाली हालेर पर्खाल लगाइएको थियो । सोही पर्खालको माथि खेलमैदान बनाइएको थियो ।
निर्माण सम्पन्न हुने बेला वर्षाले खेलमैदान भत्किएर विद्यालय भवन पनि जोखिममा परेको प्रधानाध्यापक तपेन्द्र महताराले बताए । ‘काम ९० प्रतिशत भइसकेको थियो,’ उनले भने, ‘फिल्ड सम्याउन मात्र बाँकी रहेको अवस्थामा कामै नलाग्ने गरी पर्खाल भत्कियो ।’
