वीरेन्द्रनगरमा ‘कर्णाली समृद्धि महोत्सव’

कर्णालीको कला र संस्कृतिको प्रवर्द्धन गर्दै स्थानीय व्यवसाय चलायमान बनाउने उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो ।

चैत्र १२, २०८२

ज्योति कटुवाल

'Karnali Prosperity Festival' in Birendranagar

सुर्खेत — कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ‘कर्णाली समृद्धि महोत्सव–२०८२’ बुधबारदेखि सुरु भएको छ । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति सुर्खेतको आयोजनामा चैत ११ देखि २२ गतेसम्म महोत्सव सञ्चालन हुने भएको हो ।

वीरेन्द्रनगर नगरपालिका, १ स्थित रेडियो नेपाल परिसरमा सुरु भएको महोत्सवमा राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ । कर्णालीको कला र संस्कृतिको प्रवर्द्धन गर्दै स्थानीय व्यवसाय चलायमान बनाउने उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष कवि गिरीले महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धनमा टेवा पुग्ने बताए । उनका अनुसार महोत्सवमा राखिएका व्यापारिक स्टलमा स्थानीय उत्पादन, हस्तकला तथा उद्यमशील सामग्रीहरूको प्रदर्शन तथा बिक्री गरिनेछ । 

मेला अवधिभर गोठीगाडाबाट प्याराग्लाइडिङको व्यवस्था गरिएको मूल आयोजक समिति संयोजक हरि विष्टले जानकारी दिए । उनका अनुसार यसले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने विश्वास गरिएको छ । महोत्सवले कर्णालीको पर्यटन, कला, संस्कृति र स्थानीय अर्थतन्त्रलाई टेवा पुर्‍याउने अपेक्षा गरिएको आयोजकको भनाइ छ ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully