मौरी बचाउन न्युटन ‘बी’ घार

न्युटन ‘बी’ घारको प्रयोग गर्दा जाडो सिजनमा मौरीलाई तराईमा लैजान सकिने उनको भनाइ छ । उनले सरकारले चासो दिएमा जुम्लामै मौरीको उत्पादन, घार निर्माणदेखि प्रविधिको सीपसमेत दिन सकिने बताए ।

चैत्र ११, २०८२

डीबी बुढा

Newton 'Bee' hive to save bees

What you should know

जुम्ला — चन्दननाथ–४ का नारायण चौलागाईं ४० वर्षदेखि मौरी पालनमा सक्रिय छन् । उनले रेखदेख, संरक्षणदेखि किसानलाई मौरी पालनका लागि हौसला प्रदान गर्दै आएका छन् ।  ‘मौरी पालनका लागि कर्णालीको भूगोल उपयुक्त छ,’ उनले भने, ‘तर, परम्परागत तरिकाले मौरी हुर्काउँदा सोचेजस्तो प्रगति हुन सकिरहेको छैन ।’

पुर्खाले अपनाएको तरिका अध्ययन गरिसकेका उनी अहिले चलनचल्तीको मौरीपालन अवस्थाबारे बुझिरहेका छन् । भविष्यमा मौरीपालनमा अपनाउन सकिने नयाँ सीपका बारेमा अध्ययन गरिरहेको उनले बताए । आफ्नो घरवरिपरि मौरीपालन गरेका छन् । उनको आँगनभित्र छिर्नेबित्तिकै मौरीको भुनभुन सुनिन्छ । उनले परम्परागत मुढे, जुम्ला टपबार, जुम्ला नयाँ टपबारदेखि न्युटन ‘बी’ घारमा मौरी पालिरहेका छन् । 

जुम्ला टपबार र जुम्ला नयाँ टपबार घार उनले बनाएका हुन् । अहिले यी घार अन्य मौरी पालकसम्म पुगिसकेका छन् । पहिले मुढेघारबाट मौरीपालन थालेका उनले जुम्ला टपवार घार आफैं बनाएका हुन् । 

यस घारमा मौरी पालन राम्रो भएपछि नयाँ जुम्ला टपबार निर्माण गरेको उनले बताए । मौरी बचाउने उद्देश्यले नयाँ घार बनाएको उनको भनाइ छ । ‘अज्ञात रोगका कारण मौरी मरिरहेका थिए,’ उनले भने, ‘मह उत्पादन कम हुनेदेखि चरन क्षेत्रसम्म मौरी लैजाने अवस्था थिएन । नयाँ घारको विकास गरेपछि मौरी बाँचिरहेका छन् ।’ अहिले विकास गरेका घारप्रति पनि उनी पूर्ण सन्तुष्ट छैनन् । यी घारहरूमा मौरीलाई बस्न सहज नभएको, मौरीमा लागेको रोगको निरीक्षण गर्न नसकिएको, चलायमान नभएको उनको भनाइ छ । 

‘त्यसलाई समाधान गर्न न्युटन ‘बी’ नामको घार प्रयोगमा ल्याइएको प्रशिक्षक चौलागाईंले बताए । ‘यो घार न्युटन भन्ने वैज्ञानिकले प्रतिपादन गरेको हो,’ उनले भने, ‘यसको विश्वभरि एउटै आकार हुन्छ । मौरीलाई खाना दिन, मह निकाल्न, मौरीको संख्या वृद्धि गर्नदेखि एक घारबाट दुई घार बनाउन पनि यो घार सहज हुने गरेको छ ।’ उनका अनुसार यो घार अधिकांशले परीक्षणका रूपमा प्रयोगमा ल्याएका छन् । सबैले राम्रो भइरहेको प्रतिक्रिया दिइरहेका छन् ।

गत वर्षदेखि न्युटन ‘बी’ नामको घारमा मौरीपालन सुरु गरेका उनले पहिलो वर्षमा ६ घारमा मौरीको हुल राखे । ‘जाडो समयमा राम्ररी हुर्कियो । अहिलेसम्म शान्तिसँग बस्यो,’ उनले भने, ‘वैशाख/जेठ महिनामा हुल छुटाएर फेरि अर्को न्युटन ‘बी’ नामक घारमा राख्न सकिने अवस्था छ ।’ पहिले उपकरण थिएन । यातायातको साधन थिएन । ‘जे परम्परागत प्रविधि थियो, त्यही प्रयोगमा ल्यायौं,’ उनले भने, ‘अब त मौरीलाई व्यवसायीकरण गर्नुपर्‍यो । चरन क्षेत्रमा लैजानुपर्ने देखियो । त्यसका लागि न्युटन ‘बी’ नामको घार अति उत्तम देखियो ।’

न्युटन ‘बी’ घारको प्रयोग गर्दा जाडो सिजनमा मौरीलाई तराईमा लैजान सकिने उनको भनाइ छ । उनले सरकारले चासो दिएमा जुम्लामै मौरीको उत्पादन, घार निर्माणदेखि प्रविधिको सीपसमेत दिन सकिने बताए । अहिले स्याउमा परागसेचनको काम मौरीले गरिरहेको छ । मौरीपालनका लागि स्याउका फारमहरूमा घार भाडामा लिने र चराउन लैजानलाई यो घार सम्भव देखिएको छ । न्युटन ‘बी’ नामको घार सहजै रूपमा पाइँदैन । वर्कसपहरू जहाँतहीँ छैनन् । यो घार बनाउने तालिम पनि आवश्यक देखिन्छ । जुम्लाका चार जनाले राष्ट्रिय मौरी विकास केन्द्रबाट तालिम लिइए पनि कार्यान्वयनमा ल्याउन सकिरहेका छैनन् । 

मौरीपालन सहकारी संस्थाको तथ्यांकमा जिल्लाभर १ हजार ६ सय घार छन् । मह बेचेर मात्रै वार्षिक २ करोड रुपैयाँ जुम्ला भित्रिने गरेको छ । एक घारदेखि न्यूनतम ५ केजी मह निकाल्ने गरेका किसानहरू बजारमा प्रतिकेजी २ हजार ५ सय रुपैयाँमा मह बेचिरहेका छन् । जिल्ला कृषि विकास कार्यालयले पनि आगामी वर्षमा मौरी प्रवर्द्धनका कार्यक्रम ल्याउने तयारी गरिरहेको जनाएको छ ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully