भेरी करिडोरका चौधवटा पुलहरु बहुवर्षीय योजनाको रुपमा समावेश गर्नुपर्ने देखिएको उनको भनाइ छ ।
डोल्पा — भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव प्रसाद चौलागाईंले भेरी करिडोरको स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणपछि मन्त्री चौलागाईंले स्थानीय ठेकेदारकै कारण योजनाहरु अलपत्र पर्ने गरेको बताए ।
सोमबार सडकमार्ग हुँदै मन्त्री चौलागाईं डोल्पा पुगेका थिए । ‘हामीले अध्ययन गर्दा कर्णालीका धेरै योजना अलपत्र पार्नेमा यहीँकै ठेकेदार देखिएका छन्,’ उनले भने, ‘जबसम्म ठेकेदार जिम्मेवार बन्दैनन् र उनीहरूलाई जिम्मेवार बनाउन सकिँदैन, तबसम्म कर्णालीको विकासले गति लिन सक्दैन ।’
उनले विकास निर्माणलाई प्रभावकारी बनाउन टिमवर्क आवश्यक रहेको पनि औंल्याए । भेरी करिडोरका चौधवटा पुलहरु बहुवर्षीय योजनाको रुपमा समावेश गर्नुपर्ने देखिएको उनको भनाइ छ ।
डोल्पा भ्रमणका क्रममा मन्त्री चौलागाईंले भेरी करिडोर अन्तर्गतका सडक खण्डको निरीक्षण गर्नुका साथै प्रशिद्व शक्तिपीठ श्री बाला त्रिपुरासुन्दरी मन्दिरमा पूजाआजा गरेका थिए।
जिल्लाको समग्र अवस्थाबारे प्रमुख जिल्ला अधिकारी जुनु हमालले मन्त्री सहितको टोलीलाई जिल्लाको समग्र अवस्थाबारे ब्रिफिङ गरेकी थिइन् ।
उक्त टोली करिडोर अन्तर्गतपर्ने ल्यासिक्याप-सिसौल सडकबारे जानकारी लिएको थियो । यसैगरी दुनै-ल्यासिक्याप सडकको प्रगतिबारे पनि चासो लिएको थियो ।
