घटनाबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सहित नेपाल प्रहरीका चार टोलीले अनुसन्धान गरिरहेका छन् ।
सुर्खेत — करिब तीन साताअघि मृत्यु भएकी १६ वर्षीया इनिशा विकको शव अझै उठ्न सकेको छैन । इनिशाको शव १८ दिनदेखि कर्णाली प्रदेश अस्पतालको शवगृहमा छ । निष्पक्ष र विश्वसनीय छानबिन नभएसम्म शव नबुझ्ने परिवारको अडान छ ।
गत २३ फागुनमा घरबाट विद्यालयका लागि हिँडेकी इनिशालाई अचेत अवस्थामा प्रहरीले नजिकैको सामुदायिक वनबाट उद्धार गरेको थियो । त्यसै दिन जबर्जस्ती करणी आरोपमा प्रहरीले घटनास्थलबाट १६ वर्षीय एक किशोरलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका किशोरको बयानका आधारमा प्रहरीले २४ फागुनमा थप तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ । तर, अहिलेसम्म घटनाको वास्तविकता खुल्न सकेको छैन ।
इनिशालाई न्याय माग्दै मुलुकभर प्रदर्शन र दबाबका कार्यक्रम जारी छ । छोरीको मृत्यु भएको १८ दिन भइसक्दा पनि प्रहरीले घटनाको वास्तविकता पत्ता लगाउन ढिलाइ गरेको इनिशाका आमा–बुबाले आरोप लगाएका छन् । घटनालगत्तै पीडित परिवारले सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै पक्राउ परेका चारै जनाविरुद्ध कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा किटानी जाहेरी दिएका थिए ।
परिवारको जाहेरीपछि बाँकेस्थित भेरी अस्पताल फरेन्सिक विशेषज्ञ अर्विन शाक्यको टोलीले प्रदेश अस्पतालमा शवको पोस्टमार्टम गरेको थियो । प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्टमा बलपूर्वक गरिएको शारीरिक सम्पर्कले यौनांगमा लागेको गम्भीर चोटपछिको अत्यधिक रक्तस्राव हुँदा इनिशाको मृत्यु भएको उल्लेख छ । तर, पीडित परिवारले पोस्टमार्टम रिपोर्टप्रति नै असन्तुष्टि जनाएको छ । ‘मलाई सुरुबाटै शंका लागेको छ, छोरीलाई त्यस्तो अवस्थामा फेला पारेकी मलाई पोस्टमार्टम रिपोर्टप्रति शंका छ,’ इनिशाकी आमा तिलाले भनिन्, ‘यो रिपोर्ट मात्र होइन, अरू रिपोर्ट पनि यस्तै आयो भने हामी आन्दोलनमा उत्रिन्छौं ।’
छोरीको मृत्युको खबरपछि नेपाल आएका बुबा इन्द्रबहादुरले कम्पनीबाट पाएको बिदा सकिन थालेको बताए । ‘छोरीको मृत्यु भएको आज १८ दिन भइसक्यो, अझै रिपोर्ट आउँदै छ मात्र भन्छन्,’ उनले भने, ‘प्रहरीले सबै रिपोर्ट आएपछि मात्र मुद्दाको प्रक्रिया अघि बढ्ने भनेको छ ।’ छोरीले न्याय पाउनेमा शंका हुन थालेको उनले बताए । प्रहरीले अहिलेसम्म घटनाका बारेमा खुलेर जानकारी नगराएको परिवारको भनाइ छ । ‘घटना झनै रहस्यमय बन्दै जाने हो कि जस्तो लागेको छ,’ इन्द्रबहादुरले भने, ‘रिपोर्ट पनि सामान्य देखाएका छन्, के–के विषयमा अनुसन्धान गरिएको हो, अत्तोपत्तो छैन । छोरीले न्याय पाउँदिनँ कि भन्ने लाग्न थालेको छ ।’
जिल्ला प्रहरीले भने घटनाबारे अनुसन्धान अन्तिम चरणमा पुगेको दाबी गरेको छ । घटनाबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सहित नेपाल प्रहरीका चार टोलीले अनुसन्धान गरिरहेका छन् । यताको सम्पूर्ण अनुसन्धान सकिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए । ‘फरेन्सिक रिपोर्ट पनि दुई/तीन दिनमा आउँछ,’ उनले भने, ‘अहिलेसम्म पोस्टमार्टम, सीआईबी र डिजिटल रिपोर्ट आइसकेको छ ।’ टक्सिकोलोजिकल, भिसेरा र बायो सेरोलोजिकल रिपोर्ट आउनासाथ अनुसन्धानको पाटो सकिने शाहीले बताए ।
इनिशाको घटनाबारे अनुसन्धान नहुँदै सामाजिक सञ्जालमा अनेक अड्कलबाजी र अपुष्ट सूचनाले अनुसन्धानमा बाधा पुर्याएको प्रहरीले जनाएको छ । वास्तविकता नबुझी मनगढन्ते विवरण सार्वजनिक गर्दा सर्वसाधारण, परिवारलाई पीडा हुनुका साथै अनुसन्धानमा समस्या भइरहेको प्रहरी उपरीक्षक शाहीले बताए ।
