कर्णालीमा ८ सय ६१ क्षयरोगीका नयाँ बिरामी

हाल कर्णाली प्रदेशमा ४ सय १५ क्षयरोग उपचार केन्द्र, दुई एमडीआर उपचार केन्द्र र १० जीन विशेषज्ञ केन्द्र सञ्चालनमा छन्।

चैत्र १०, २०८२

ज्योति कटुवाल

861 new TB patients in Karnali

सुर्खेत — कर्णाली प्रदेशमा चालु आर्थिक वर्षका पछिल्ला आठ महिनामा ८ सय ६१ जना क्षयरोगी पत्ता लागेका छन् । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार प्रदेशका १० जिल्लामा यस अवधिमा नयाँ बिरामीका रूपमा यो संख्या पहिचान भएको हो। 

निर्देशनालयका क्षयरोग तथा कुष्ठरोग अधिकृत पदमबहादुर केसीले नयाँ संक्रमित थपिने क्रम भने नरोकिएको बताए। उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १ हजार ७ सय १४ जना क्षयरोगी रहेकामा २०८१/८२ मा घटेर १ हजार ५ सय ३९ भेटिएका थिए।

चालु आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी बिरामी सुर्खेतमा २ सय ९६ जना फेला परेका छन्। सबैभन्दा कम हुम्लामा १९ जना छन्। अन्य जिल्लामध्ये सल्यानमा १ सय ४, जाजरकोटमा १ सय १, रुकुम पश्चिममा ९२, दैलेखमा ८३, कालिकोटमा ४६, जुम्लामा ४५, डोल्पामा २१ र मुगुमा १९ जना नयाँ बिरामी फेला परेका हुन्। हुम्ला, डोल्पा र मुगुमा परीक्षण दर कम भएकाले संक्रमित संख्या अझ बढी हुन सक्ने निर्देशनालयको अनुमान छ। 

हाल प्रदेशमा ४ सय १५ क्षयरोग उपचार केन्द्र, दुई एमडीआर उपचार केन्द्र र १० जीन विशेषज्ञ केन्द्र सञ्चालनमा छन्। डोल्पामा भने जीन विशेषज्ञ केन्द्र स्थापना भएको छैन। माइक्रोस्कोपी सेवा ३३ स्थानमा उपलब्ध छ। स्वास्थ्य सेवा निर्देशनालयको आयोजना र नगर अस्पताल वीरेन्द्रनगरको समन्वयमा सम्पन्न कार्यक्रममा निर्देशक डा. रविन खड्कालगायतको उपस्थिति थियो। कार्यक्रममा बिरामीलाई सचेतना तथा फलफूल वितरण गरिएको थियो।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully