'जनप्रतिनिधिलाई त आलटाल गरेर झुलाउन खोजियो भने सर्वसाधारणको अवस्था के होला ?’
सल्यान —
तीन थान मिटरबक्सका लागि कपुरकोट गाउँपालिका-३ का वडाध्यक्ष प्रदीप खड्गा ४ घण्टा धर्ना बसेका छन् । वडाबासीको घरमा बत्ती बाल्ने भन्दै विद्युत् प्राधिकरणको कार्यालय खलंगा सल्यानमा धर्ना दिएपछि उनले मिटरबक्स पाएका छन् ।
आर्थिक लगायत विभिन्न किसिमको समस्याका कारण खलंगा आउन नसकेपछि वडा नं ३ कटुजेरीका अन्जना खड्गा, रामकली बोहरा र लालबहादुर खड्गाका लागि अध्यक्ष खड्गा मिटरबक्स लैजाने भनेर आइतबार दिउँसो १ बजे खलंगा आएका थिए ।
कार्यालयको सल्लाहअनुसार उनले मिटरबक्सका लागि तीन जनाको फाइल दर्ता गर्नुका साथै लाग्ने दस्तुर, राजस्व आइतबार दिउँसै बुझाएका थिए । सबै प्रक्रिया पूरा गरिसके पनि कार्यालयका प्रमुख तथा कर्मचारीले आलटाल गर्दै तुरुन्तै मिटरबक्स दिन नसकिने भनेपछि खड्गाले आएतबार बेलुकी ५.३० बजेदेखि राति ९.३० सम्म धर्ना दिएका थिए ।
सामाजिक सञ्जालमा धर्नाबारेका समाचार फैलन थालेपछि प्राधिकरणको कार्यालयले उनलाई राति १० बजेतिर तीन थान मिटरबक्स उपलब्ध गराएको थियो ।
आइतबार नै मिटरबक्स लैजाने भनेर विद्युत् प्राधिकरण पुगेको खड्गाको भनाइ छ । 'सबै प्रक्रिया पुगे पनि प्रमुख नरेशदत्त रावतले तत्काल मिटर बक्स दिन नमिल्ने भनेपछि धर्ना दिन बाध्य भएको हुँ,' वडाध्यक्ष खड्गाले भने । धर्नापछि राति १० बजेतिर मिटर पाएको र राति नै धर्ना त्यागेर घर फर्केको उनले जानकारी गराए ।
‘जिल्ला पूर्ण विद्युतीकरण कार्यक्रमअनुसार वडा नं ३ को कटुजेरीमा ६ महिनाअघि बिजुलीका पोल गाडेर तार तानिएको थियो । १३ घरमध्ये अधिकांशले बत्ती बालिसकेका थिए । विभिन्न किसिमको समस्याका कारण तीन परिवारले बत्ती बाल्न पाएका थिएनन्,' उनले भने, 'आफ्नो दायित्व पूरा गर्न खलंगा पुगेको हुँ । जनप्रतिनिधिलाई त विभिन्न कुरा गरी आलटाल गरेर झुलाउन खोजियो भने सर्वसाधारणको अवस्था के होला ?’
विद्युत प्राधिकरणका प्रमुख नरेशदत्त रावतले उपभोक्ता तथा सेवाग्राहीले निवेदन दिएको २४ घन्टाभित्र कोडसहित सामग्री उपलब्ध गराउने प्रक्रिया भएको र कोडबिना मिटरबक्स दिन नमिल्ने भएकाले तत्काल उपलब्ध गराउन नसकेको बताएका छन् ।
