कोटवाडा कालीकोटकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

पोषणमैत्री घोषणाका १६ मध्ये १५ वटा सूचकमा ९० प्रतिशत बढी सफलता हाँसिल गरेपछि कोटवाडालाई कालीकोटको पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको चौकी इन्चार्ज सुशीला विष्टले बताइन् ।

चैत्र ९, २०८२

तुलाराम पाण्डे

Kotwada declared Kalikot's first nutrition-friendly health facility

What you should know

कालीकोट — यहाँको नरहरिनाथ–१ कोटवाडा स्वास्थ्य चौकीलाई जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । ‘स्वस्थ, सुखी र समृद्ध परिवार, हाम्रो सरोकार, प्रभावकारी बहुक्षेत्रीय पोषण सेवा, जनताको अधिकार’ नाराका साथ आइतबार कोटवाडा स्वास्थ्य चौकीलाई जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो । 

पोषणमैत्री घोषणाका १६ मध्ये १५ वटा सूचकमा ९० प्रतिशत बढी सफलता हाँसिल गरेपछि कोटवाडालाई कालीकोटको पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको चौकी इन्चार्ज सुशीला विष्टले बताइन् । ‘स्वास्थ्य संस्थाको सेवा क्षेत्रमा कुपोषण अन्त्य भएको छ,’ उनले भनिन् ‘यसको दिगोपनाका लागि सबै पक्षको सहयोग र समन्वय आवश्यक छ ।’ 

कोटवाडा स्वास्थ्य चौकीको सेवा क्षेत्रमा  ३ वर्ष अघि १५ जनामा  कुपोषण रहेकोमा गत वर्ष १० जनामा झरेको थियो । यो वर्ष उक्त संख्या शून्यमा झरेको छ  । ०४७ मा स्थापना भएको कोटवाडा स्वास्थ्य चौकीको सेवा क्षेत्रमा दुई वर्षअघिसम्म ३ प्रतिशत कुपोषण रहेकोमा शून्यमा झार्न संघसंस्थामार्फत समुदायमा हरेक बार खाना चार, स्तनपान, गर्भजाँच, कुपोषित बालबालिकालाई सहयोग गरेर कुपोषण घटाउन सहयोग पुगेको स्वास्थ्य शाखा प्रमुख मानबहादुर सहकारीले बताए ।

पोषणमैत्री स्वास्थ्य संस्था घोषणाका लागि कोटवाडामा प्रसूति पूर्व ८ पटक गर्भ जाँच गर्ने ९० प्रतिशत, गर्भवती महिलाले गर्भधान अवधिभर १ सय ८० चक्की आरन चक्की खाने ९० प्रतिशत, शतप्रतिशत महिलाले स्वास्थ्य संस्थामै बच्चा जन्माएको, स्वास्थ्य संस्थामा जन्मिएका बालबालिकाले १ घण्टाभित्रै आमाको स्तनपान गरेका छन् ।

त्यस्तै, ६ देखि ५९ महिनासम्मका ९७ प्रतिशत बालबालिकाले भिटामिन ए क्याप्सुल खाएको, एक वर्षदेखि ५९ महिनाका ९१ प्रतिशत बालबालिकाले जुकाको औषधि खाएको, बालबालिकाको नियमित बृद्धि अनुगमन गरिएको, बृद्धि अनुगमनका लागि दर्ता भएका शतप्रतिशत बालबालिकाले जन्मेदेखि ६ महिनासम्म पूर्णस्तनपान गराएको छ ।

त्यसैगरी, ६ महिनापछि सबै बालबालिकालाई पूरक खाना खुवाउने गरिएको, कम तौल भएका बालबालिकाको जन्म शून्य रहेको, शतप्रतिशत बालबालिकालाई पूर्णखोप दिइएको, सबै बालबालिकाले पूर्ण बालभिटा पाएका, सबै बालबालिकालाई जिंक चक्की र पुर्नजलीय झोल खुवाइएको २६ हप्तासम्म किशोरीलाई आइरन फोलिक चक्की खुवाइएको सूचकको आधारमा कोटवाडालाई पोषणमैत्री घोषणा गरिएको अनुगमनमा संलग्न स्वास्थ्य सेवा कार्यालयका पोषण फोकल पर्सन कटकबहादुर महतले बताए ।

उनकाअनुसार कालीकोट जिल्लाभर करिब ४ प्रतिशत बालबालिकामा कुपोषण रहेकोमा नरहरिनाथ गााउँपालिकामा कुपोषण न्यून छ । वडा १ कोटवाडामा कुपोषण देखिएको छैन । कालीकोट जिल्लालाई खुला दिसामुक्त घोषणा गरेपछि झाडापखालाले मृत्यु हुनेको संख्या शून्यमा झरेको सुनाउँदै पोषणमैत्री अभियान पनि जिल्लाभर संचालन गनुपर्ने उनले बताए । 

गााउँपालिका उपाध्यक्ष कमलकुमार शाहले नरहरिनाथ–१ कोटवाडा स्वास्थ्य चौकी जिल्लाको पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा हुन सफल भएकोमा गर्व लागेको बताउँदै दिगोपनाको लागि पालिकाले आवश्यक कार्यक्रम र बजेट विनियोजन गर्ने प्रतिबद्धता गरे । 

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully