भौगोलिक विकटता, परम्परागत सोच र प्रभावकारी प्रसूति सेवा नहुँदा कर्णालीका गर्भवती र सुत्केरीले वर्सेनि ज्यान गुमाइरहेका छन् ।
What you should know
जुम्ला — तिला–३ की १८ वर्षीया अस्मिता नेपाली सुत्केरी सेवाका लागि गत फागुन २५ मा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुगिन् । बेथा लागेको लामो समयपछि अस्पताल पुर्याउँदा उनको स्वास्थ्य अवस्था नाजुक भइसकेको थियो । अस्मिता शिशुलाई जन्म त दिइन् तर आफ्नो ज्यान गुमाउन बाध्य भइन् ।
स्वास्थ्य थप जटिल बनेपछि नेपाली सेनाको हेलिकप्टर मार्फत उनलाई गत बिहीबार प्रदेश अस्पताल सुर्खेतसम्म पुर्याए पनि न स्वास्थ्यमा सुधार आएन । सोही राति प्रदेश अस्पतालले उनलाई मृत घोषणा गर्यो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक कमल थानीले धेरै प्रयास गरे पनि अस्मितालाई बचाउन नसकिएको बताए । ‘मृगौला र फोक्सोमा समस्या थियो,’ उनले भने, ‘तीन दिनसम्म आइसीयूमा राखेर उपचार गरिएको थियो ।’
स्थानीयका अनुसार आफन्तले बेथाले च्याप्ने बित्तिकै अस्पताल ल्याउनुको साटो धामीझाँक्रीतिर लागेका थिए । जसले गर्दा घरमै स्वास्थ्यमा समस्या आएको उनीहरुले बताए ।
एक महिनाअघि तातोपानी–१ राकागाउँकी ३० वर्षीया मुगा शाहीको अस्पताल पुर्याउने वित्तिकै मृत्यु भयो । नवजात शिशु समेत बचेन । उनलाई बेथा लागेपछि घरमै सुत्केरी गराउन खोजिएको थियो । एक्कासी बेहोस भएपछि अस्पताल पुर्याएर आइसीयूमा राखेर उपचार गरिए पनि ज्यान बचेन । चिकित्सकका अनुसार भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि केही चलेन । शिशुको त बाटोमै मृत्यु भइसकेको थियो ।
जिल्लामा सुत्केरी बेथा लाग्ने बित्तिकै प्रसूतिका लागि अस्पताल लैजाने चलन छैन । झन् धामीझाँक्रीको भर पर्दा स्वास्थ्य अवस्था जटिल बन्ने गरेको अस्पताल निर्देशक थानीले बताए । ‘गर्भवतीलाई ढलो गरी अस्पताल पुर्याउँदा आमा र बच्चा जोखिममा पर्ने गरेका छन्,’ उनले भने ।
आमा र बच्चालाई सेक्न बालिएको आगोका कारण धुँवामा निस्सासिएर गत साउनमा पातारासी–६ की २२ वर्षीया मायालक्ष्मी महाताराले ज्यान गुमाइन् । उनी ११ औं दिनकी सुत्केरी थिइन् । कोइलाको धुँवामा निस्सासिएकी उनको उपचारका क्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।
भौगोलिक विकटता, परम्परागत सोच र प्रभावकारी प्रसूति सेवा नहुँदा वर्सेनि जिल्लाका गर्भवती र सुत्केरीले ज्यान गुमाइरहेका छन् । अहिले पनि धेरैजसो घरमै सुत्केरी हुने गरेका छन् । बर्थिङ सेन्टरनजिकै रहेका बस्तीमा पनि सेवा प्रभावकारी छैन । केही बर्थिङ सेन्टर टाढा भएकाले भूतप्रेत लाग्ने भन्दै सुत्केरी गराउन स्वास्थ्यसंस्थामा नलैजाने चलन छ ।
निर्देशक थानी अस्पताल स्वास्थ्य अवस्था जटिल भएपछि मात्रै अस्पताल पुर्याउँदा उपचारमा कठिनाई हुने बताउँछन् । त्यस्तो अवस्थामा यहाँ उपलब्ध सुविधा पर्याप्त नहुने उनले बताए । नियमित गर्भजाँच नगराउनेहरु जटिल समस्यासँग जुँधिरहेको उनको भनाई छ ।
तिला–९ का कालीबहादुर थापा दुर्गमका गर्भवती भगवान भरोसामा बाँचिरहेको सुनाउँछन् । ‘दुर्गममा न स्वास्थ्य संस्था नजिक छन्, न स्वास्थ्यकर्मी नै बेलैमा भेटिन्छन्,’ उनले भने, ‘बेलैमा स्वास्थ्यकर्मी भेटिएनन् भने औषधि अभावले समस्या हुन्छ ।’
गाउँका आधा दर्जन भन्दाबढी गर्भवतीलाई बर्थिङ सेन्टर लैजाने क्रममा बाटोमै सुत्केरी भएको उनले सुनाए । कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो ९ वर्षमा १ सय ७२ सुत्केरीको मृत्यु भइसकेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकी नर्सिङ प्रमुख सविता खड्का भौगोलिक दुर्गमताले आमा र बच्चाको स्वास्थ्य अवस्था सधैं जोखिम हुने गरेको बताइन् । गर्भावस्थामा आवश्यक औषधि नियमित नखाने, महिलाले स्वास्थ्यसम्बन्धी निर्णय आफैं गर्न नसक्ने र स्वास्थ्य संस्थामा जान परिवारको निर्णय कुर्नुपर्ने अवस्थाले पनि कर्णालीका गर्भवतीले जोखिम मोल्नु परेको उनको भनाइ छ ।
कर्णालीको हुम्ला, मुगु, डोल्पा, कालीकोट र जुम्लाका गर्भवती सबैभन्दा जोखिममा छन् । उनीहरु न समयमै अस्पताल पुग्न सक्छन् न समयमै उद्धारको पहल नै हुन सक्ने अवस्था रहन्छ, उल्टै कालपर्खेर बसेको अनुभूति हुने गरेको स्थानीय बासमती रोकायाले बताइन् । सरकारले हरेक गर्भवतीले नियमित गर्भ जाँच गर्नुपर्ने र स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्ने प्रावधान गरेको छ । तर दुर्गममा यो व्यवस्था लागु हुन सकिरहेको छैन ।
